मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हालान्डको दुई गोलमा ब्राजिल स्तब्ध, नर्वे पहिलो पटक विश्वकप क्वाटरफाइनलमा

689
SHARES
हालान्डको दुई गोलमा ब्राजिल स्तब्ध, नर्वे पहिलो पटक विश्वकप क्वाटरफाइनलमा

काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै नर्वेले फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा ऐतिहासिक प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क–न्यु जर्सी स्टेडियममा सम्पन्न अन्तिम १६ को खेलमा एर्लिङ हालान्डले दोस्रो हाफमा दुई गोल गर्दै नर्वेलाई अविस्मरणीय जित दिलाए ।

चौथो पटक मात्र विश्वकप खेलिरहेको नर्वेले पहिलो पटक अन्तिम आठमा स्थान बनाउँदै नयाँ इतिहास रच्यो । यता ब्राजिल भने सन् १९९० पछि पहिलो पटक विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको छ । यसअघि इटालीमा आयोजित १९९० विश्वकपमा पनि ब्राजिल प्रि–क्वाटरफाइनलबाटै घर फर्किएको थियो ।

नर्वेले विश्वकपमा ब्राजिलमाथि दोस्रो जित निकाल्दा दुई टोलीबीचको अपराजित यात्रा पनि कायम राखेको छ । सन् १९९८ को विश्वकपमा पनि नर्वेले ब्राजिललाई २–१ ले नै हराएको थियो । हालसम्म भएका पाँच भेटमा नर्वे अपराजित रहेको तथ्यले पनि यो जितलाई थप विशेष बनाएको छ ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि ब्राजिलले सुरुमै अग्रता लिने सुनौलो अवसर गुमाएको थियो । १४औँ मिनेटमा पाएको पेनाल्टीलाई ब्रुनो गुइमाराइसले गोलमा परिणत गर्न सकेनन् । नर्वेका गोलरक्षक ओर्यान न्याल्यान्डले उत्कृष्ट बचाउ गर्दै टोलीलाई संकटबाट जोगाएका थिए । भिएआरमार्फत क्रिस्टोफर आयरको फाउल पुष्टि भएपछि ब्राजिलले पेनाल्टी पाएको थियो ।

पहिलो हाफमा पेनाल्टी जोगाएको आत्मविश्वास बोकेर मैदान उत्रिएको नर्वेले दोस्रो हाफमा खेलमाथि पकड बलियो बनायो । ७९औँ मिनेटमा आन्द्रेस शेल्डेरुपको पासमा हालान्डले पहिलो गोल गर्दै खेलको गतिबिधि नै बदलिदिए । त्यसपछि निर्धारित समयको अन्तिम मिनेटमा पुनः शेल्डेरुपकै क्रसलाई हेडमार्फत जाली चुमाउँदै हालान्डले नर्वेको अग्रता दोब्बर बनाए ।

ब्राजिलले इन्जुरी समयको नवौँ मिनेटमा नेयमारको पेनाल्टी गोलमार्फत अन्तर घटाए पनि पुनरागमनका लागि त्यो पर्याप्त भएन । त्यसअघि दोस्रो हाफमा मैदान प्रवेश गरेका युवा फरवार्ड एन्ड्रिकले गोलकिपरसँग एक्लाएक्लै भएको अवस्थामा अवसर खेर फालेका थिए, जसको मूल्य ब्राजिलले महँगो रूपमा चुकायो ।

खेलभर नर्वेले बल पोसेसन र खेल नियन्त्रणमा स्पष्ट वर्चस्व कायम राख्यो । नर्वेको पक्षमा ६५ प्रतिशत बल पोसेसन रहँदा ब्राजिल ३५ प्रतिशतमा सीमित भयो । नर्वेले ९ मध्ये ५ प्रहार लक्ष्यमा राख्दा ब्राजिलका १४ प्रहारमध्ये केवल ४ मात्रै लक्ष्यमा पुगे ।

यो जितसँगै नर्वेले क्वाटरफाइनलमा मेक्सिको र इंग्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । विश्व फुटबलमा नयाँ शक्ति बन्ने संकेत दिएको नर्वे अहिले उपाधि दाबेदार टोलीका रूपमा समेत हेरिन थालेको छ ।

गोल्डेन बुटको दौडमा हालान्डको बलियो चुनौती
ब्राजिलविरुद्ध दुई गोल गरेपछि एर्लिङ हालान्ड गोल्डेन बुटको प्रतिस्पर्धामा पनि थप मजबुत बनेका छन् । उनले प्रतियोगितामा आफ्नो व्यक्तिगत गोल संख्या सात पुर्‍याएका छन् । समान सात गोल गरेका फ्रान्सका कप्तान किलियन एमबाप्पे र अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँग बराबरी गरे पनि असिस्ट र कम खेल समयका आधारमा हालान्ड हाल तेस्रो स्थानमा छन् ।

विश्वकपमा पहिलो पटक सहभागी भएका हालान्डले खेलेका चारै खेलमा गोल गर्ने प्रभावशाली प्रदर्शन गरेका छन् । उनले समूह चरणमा इराक र सेनेगलविरुद्ध दुई–दुई गोल गरेका थिए भने राउन्ड अफ ३२ मा आइभरी कोस्टविरुद्ध एक गोल गरेका थिए । लगातार उत्कृष्ट लयमा रहेका हालान्ड नर्वेको ऐतिहासिक यात्राका सबैभन्दा ठूलो नायक बनेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार २२, सोमबार ००:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP