मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिफा विश्वकप २०२६: पाराग्वे र ब्राजिल अन्तिम १६ मा

1.1K
SHARES
फिफा विश्वकप २०२६: पाराग्वे र ब्राजिल अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को रोमाञ्चक प्रतिस्पर्धामा पाराग्वेले चार पटकको विश्वविजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । मंगलबार बिहान अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न खेल निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटसम्म १–१ गोलको बराबरीमा सकिएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लागेको थियो ।

पाराग्वेले यस जितसँगै विश्वकपको नकआउट चरणमा पहिलो पटक कुनै युरोपेली टोलीलाई पराजित गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यससँगै जर्मनीको विश्वकप यात्रा भने अप्रत्याशित रूपमा राउन्ड अफ ३२ मै समाप्त भएको छ ।

पेनाल्टी सुटआउटमा पाराग्वेका माउरिसियो, गुस्ताभो गोमेज, माथियस गालार्जा र जोसे क्यानालेले सफल प्रहार गरे । निर्णायक पेनाल्टी जोसे क्यानालेले गोलमा परिणत गरेपछि पाराग्वेको जित सुनिश्चित भएको हो । जर्मनीका कप्तान जोसुआ किम्मिच, जमाल मुसियाला र नादिएम अमिरीले गोल गरे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन ।

सुटआउटको सुरुवाती पाँच प्रहारमा दुवै टोलीका गोलकिपरले दुई–दुई प्रहार बचाउँदै खेललाई ३–३ को बराबरीमा राखेका थिए । छैटौं प्रहारमा जर्मनीका ताहको प्रहार पोस्टमाथिबाट बाहिरिएपछि पाराग्वेले अवसरको सदुपयोग गर्दै ऐतिहासिक जित दर्ता गर्यो । जारी विश्वकपमा पेनाल्टी सुटआउटबाट निर्णय भएको यो पहिलो खेल पनि बनेको छ ।

ब्राजिलको जापानमाथि पुनरागमन जित
यता अर्को राउन्ड अफ ३२ को खेलमा ब्राजिलले जापानमाथि उत्कृष्ट पुनरागमन जित निकाल्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ । अमेरिकाको ह्युस्टनमा भएको खेलमा ब्राजिलले २–१ को नतिजासहित जापानलाई पराजित गरेको हो ।

पहिलो हाफमा पछि परेको अवस्थामा रहेको ब्राजिलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो । जापानका काइसु सानोले २९औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए र पहिलो हाफसम्म जापानले सोही अग्रता कायम राखेको थियो ।

तर दोस्रो हाफमा ब्राजिलले खेलमा प्रभावशाली पुनरागमन गर्यो । ५६औँ मिनेटमा कासेमिरोले हेडमार्फत बराबरी गोल गरेपछि ब्राजिल खेलमा फर्किएको थियो । त्यसपछि इन्ज्युरी समयको अन्तिम क्षणमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई २–१ को रोमाञ्चक जित दिलाए ।

यो जितसँगै पाँच पटकको विश्वविजेता ब्राजिल उपाधि यात्रालाई निरन्तरता दिँदै अन्तिम १६ मा पुगेको छ भने जापानको विश्वकप अभियान राउन्ड अफ ३२ मै समाप्त भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार १६, मंगलवार ००:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP