मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अल्ट्रा धाविका रसिला तामाङको सानदार प्रदर्शन

3.1K
SHARES
अल्ट्रा धाविका रसिला तामाङको सानदार प्रदर्शन

काठमाडौं । नेपालकी चर्चित अल्ट्रा धाविका रसिला तामाङले फेरि एक पटक अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उजागर गरेकी छन् ।

आइतबार म्यानमारको माउन्ट पोपामा सम्पन्न ‘माउन्ट पोपा अल्ट्रा म्याराथन’मा रसिलाले ५० किलोमिटर दूरीको ट्रायल रनमा ओभरअल श्रेणीमै पहिलो स्थान हासिल गर्दै ऐतिहासिक सफलता हात पारिन् ।

रसिलाले दौड पूरा गर्न ६ घण्टा १८ मिनेट ५१ सेकेन्ड खर्चिन् । यो समय प्रतियोगिताको सम्पूर्ण सहभागीमध्ये सबैभन्दा छोटो थियो । उनी पछि दोस्रो स्थानमा रहेका पुरुष धावक पाइङ ओले भने त्यो दूरी तय गर्न ७ घण्टा ३८ मिनेट ४२ सेकेन्ड समय लगाए । यसले रसिलाको गति र सहनशीलताको अनुपम उदाहरण प्रस्तुत गरेको छ ।

महिलातर्फ दोस्रो स्थान म्यानमारकी धाविका यीयीले ९ घण्टा ०० मिनेट ०९ सेकेन्डमा दौड पूरा गर्दै हासिल गरिन् भने तेस्रो स्थानमा साराह सेङ रहिन् ।

पुरुषतर्फ दोस्रोमा ज्याक स्पिड र तेस्रोमा अङ टुन लिन रहे । रसिलाले महिला मात्रै नभई पुरुष धावकलाई समेत पछि पार्दै सबैलाई आश्चर्यचकित तुल्याइन् ।

रसिलाको यो जितसँगै उनी अक्टोबर ४ तारिखमा भियतनाममा आयोजना हुने ‘एसिया ट्रायल मास्टर्स (ATM) च्याम्पियनसिप फाइनल’मा छनोट भएकी छन् । उनले यो प्रतियोगिता आफूजस्तै समर्पित धाविकाको लागि थप प्रेरणाको स्रोत हुने बताइन् ।

‘ओभरअलमै पहिलो हुनु मेरो लागि गर्वको कुरा हो । मैले यो सफलताले नेपाललाई विश्व मञ्चमा चिनाउने सानो प्रयास गरेकी छु,’ रसिलाले भनिन् । उनले प्रशिक्षण, अनुशासन र आत्मविश्वासकै कारण यस्तो उपलब्धि सम्भव भएको बताउँदै आगामी प्रतिस्पर्धामा अझ उच्च प्रदर्शन गर्ने अठोट व्यक्त गरिन् ।

रसिलाले सन् २०२३ मा एटीएम महिला च्याम्पियनसिप जितेर इतिहास बनाएकी थिइन् । अल्ट्रा रनिङजस्तो कठिन र सहनशीलतामा आधारित खेलमा उनले देखाएको निरन्तरता र प्रतिबद्धता नेपाली खेल क्षेत्रका लागि उदाहरणीय छ ।

उनको यो सफलताले नेपालमा ट्रेल रनिङ र अल्ट्रा रनिङजस्ता खेलको सम्भावना, विस्तार र युवा पुस्तामा प्रेरणा बढाउने अपेक्षा गरिएको छ । रसिलाको जितसँगै नेपाली खेलकुदमा उत्साह थपिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १५, आईतवार ११:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP