मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्पेनलाई २०१० पछि ऐतिहासिक सफलता, ओयाजाबालको दुई गोलमा अस्ट्रिया पराजित

546
SHARES
स्पेनलाई २०१० पछि ऐतिहासिक सफलता, ओयाजाबालको दुई गोलमा अस्ट्रिया पराजित

काठमाडौं । स्पेनले फिफा विश्वकप २०२६ मा अस्ट्रियामाथि ३–० को प्रभावशाली जित निकाल्दै सन् २०१० पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा विजय हासिल गरेको छ ।

शुक्रबार बिहान लस एन्जलस स्टेडियममा सम्पन्न खेलमा मिकेल ओयाजाबालले दुई तथा पेड्रो पोरोले एक गोल गर्दै स्पेनलाई सहज जित दिलाए । यो जितसँगै स्पेनले विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ, जहाँ उसले पोर्चुगल र क्रोएसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

सन् २०१० को विश्वकप फाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै उपाधि जितेपछि स्पेनले विश्वकपको नकआउट चरणमा पहिलो पटक जित हात पारेको हो ।

स्पेनले पहिलो हाफभरि नै खेलमा पकड जमाएको थियो । २९औँ मिनेटमा मार्क कुकुरेलाले बल जाली चुमाए पनि स्पेनका खेलाडीले अस्ट्रियाका गोलरक्षक अलेक्जान्डर श्लागरलाई अवरोध गरेको ठहर गर्दै रेफ्रीले गोललाई मान्यता दिएनन् ।

त्यसपछि ३३औँ मिनेटमा ओयाजाबालको शक्तिशाली प्रहार श्लागरले उत्कृष्ट बचाउ गरे । तर ३६औँ मिनेटमा कुकुरेलाकै पासमा ओयाजाबालले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । यो गोल स्पेनका लागि सन् २०१० को विश्वकप फाइनलमा आन्द्रेस इनेस्टाले गरेको गोलपछि विश्वकपको नकआउट चरणमा आएको पहिलो गोल पनि बन्यो ।

पहिलो हाफको इन्जुरी समयमा एलेक्स बाएनाको फ्रिकिक क्रसबारमा लागेर फर्किएको थियो भने त्यसपछि लामिन यामालले गरेको प्रहार पनि श्लागरले रोकेपछि स्पेनले अग्रता दोब्बर बनाउने अवसर गुमाएको थियो ।

दोस्रो हाफमा स्पेनले थप आक्रामक खेल प्रस्तुत गर्‍यो । ६६औँ मिनेटमा एलेक्स बाएनाको उत्कृष्ट क्रसमा पेड्रो पोरोले हेडमार्फत गोल गर्दै टोलीको अग्रता २–० बनाए । यो पोरोको अन्तर्राष्ट्रिय करियरको पहिलो गोल पनि हो ।

खेल सकिन एक मिनेट बाँकी रहँदा ओयाजाबालले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको ३–० को जित सुनिश्चित गरे ।

दुई गोलसँगै ओयाजाबालले जारी विश्वकपमा आफ्नो गोल संख्या चार पुर्‍याएका छन् । उनले समूह चरणमा साउदी अरेबियाविरुद्ध पनि दुई गोल गरेका थिए । चार गोल र एक असिस्टसहित उनी गोल्डेन बुटको प्रतिस्पर्धामा बलियो दाबेदारका रूपमा रहेका छन् ।

गोल्डेन बुट दौडमा फ्रान्सका कप्तान किलियन एमबाप्पे र अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी समान ६ गोलसहित शीर्ष स्थानमा छन् । नर्वेका एर्लिङ हालान्ड र इंग्ल्यान्डका कप्तान ह्यारी केनले पाँच–पाँच गोल गरेका छन् । फ्रान्सका उसमान डेम्बेले चार गोल र दुई असिस्टका कारण ओयाजाबालभन्दा अगाडि रहेका छन् भने ओयाजाबाल, ब्राजिलका भिनिसियस जुनियर र सेनेगलका इस्माइला सार समान चार गोल र एक असिस्टमा रहेका छन् । कम समय मैदानमा बिताएकाले ओयाजाबाल उनीहरूमध्ये अघि छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार १९, शुक्रबार ००:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP