मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

२० वर्षयताको सम्पत्ति विवरण माग्दै आयोगको सार्वजनिक सूचना, उच्च पदस्थदेखि स्थानीय तहसम्म छानबिनको दायरामा

1.1K
SHARES
२० वर्षयताको सम्पत्ति विवरण माग्दै आयोगको सार्वजनिक सूचना, उच्च पदस्थदेखि स्थानीय तहसम्म छानबिनको दायरामा

काठमाडौं । सम्पत्ति छानबिन आयोगले आर्थिक वर्ष २०६२÷६३ देखि २०८१ चैत मसान्तसम्म सार्वजनिक पदमा बसेका व्यक्तिहरूलाई लक्षित गर्दै विस्तृत सम्पत्ति विवरण पेश गर्न सार्वजनिक सूचना जारी गरेको छ । आयोगले पूर्व तथा वर्तमान सार्वजनिक पदाधिकारी, उच्च सरकारी कर्मचारी र उनीहरूका परिवारको नाममा रहेको स्वदेश तथा विदेशस्थित सम्पत्तिको विवरण माग गरेको हो ।

आयोगका अनुसार तोकिएको अवधिभित्र प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री तथा सहायक मन्त्रीका रूपमा कार्य गरेका व्यक्तिहरूले अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्नेछ । त्यस्तै तत्कालीन संसद् सदस्य, संविधानसभा सदस्य, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्री, प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरू पनि छानबिनको दायरामा पर्नेछन् ।

सूचनामा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, पूर्वन्यायाधीश, महान्यायाधिवक्ता, मुख्य न्यायाधिवक्ता तथा विभिन्न सरकारी सेवाका उच्च तहका कर्मचारीहरूको सम्पत्ति विवरण पनि माग गरिएको उल्लेख छ । निजामती, संसद्, स्वास्थ्य तथा राष्ट्रिय मानव अधिकार सेवाका सहसचिव वा सोभन्दा माथिका कर्मचारीसँगै कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका उपसचिवहरू पनि छानबिनमा समेटिएका छन् ।

सुरक्षा निकायतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरू पनि आयोगको निगरानीमा परेका छन् । विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगका प्रमुख र कर्मचारीहरूलाई समेत सम्पत्ति विवरण बुझाउन भनिएको छ ।

यसैगरी नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर, सञ्चालक तथा उच्च अधिकारीहरू, सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्था, सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड र समितिका अध्यक्ष तथा कार्यकारी प्रमुखहरूको सम्पत्ति पनि छानबिन हुने आयोगले जनाएको छ । सरकारी अनुदान प्राप्त विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी तथा वरिष्ठ कर्मचारीहरू पनि अनुसन्धानको दायरामा समावेश गरिएका छन् ।

आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको पदलाई भने सूचीमा राखेको छैन । तर विभिन्न निकायमा कार्यरत सल्लाहकार, स्वकीय सचिव, निजी सचिव लगायतका राजनीतिक नियुक्तिका पदाधिकारीहरूको सम्पत्ति विवरण पनि अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

सम्पत्ति विवरणमा व्यक्तिको नाममा रहेको चल तथा अचल सम्पत्ति, त्यसको प्राप्तिको स्रोत, बैंक मौज्दात, सेयर लगानी, व्यवसाय, ऋण, रेमिट्यान्स, घरजग्गा, विदेश भ्रमणबाट प्राप्त सुविधा लगायतका विवरण खुलाउनुपर्नेछ । परिवारका सदस्यको नाममा रहेको सम्पत्ति पनि अनिवार्य रूपमा समावेश गर्नुपर्ने आयोगले जनाएको छ ।

सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित व्यक्तिले आयोगको केशरमहलस्थित कार्यालयमा स्वयं उपस्थित भएर, प्रतिनिधिमार्फत वा हुलाक सेवामार्फत सम्पत्ति विवरण बुझाउन सक्ने व्यवस्था गरिएको छ । आयोगले तोकिएको समयभित्र विवरण नबुझाए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढ्न सक्ने संकेत पनि दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख ३१, बिहीबार ०७:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP