मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आज लोकतन्त्र दिवस: जनआन्दोलनको उपलब्धिको सम्झना

286
SHARES
आज लोकतन्त्र दिवस: जनआन्दोलनको उपलब्धिको सम्झना

काठमाडौं । आज २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रमसहित देशभर मनाइँदै छ । २०६२र/३ को जनआन्दोलनको सफलतापछि प्राप्त लोकतान्त्रिक व्यवस्थाको सम्मानस्वरूप हरेक वर्ष वैशाख ११ गते यो दिवस मनाउने परम्परा सुरु भएको हो । विसं २०६३ मा यही दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित संसद् पुनर्स्थापना गर्ने घोषणा गरेका थिए, जसले देशको राजनीतिक मोड परिवर्तन गरिदियो ।

विसं २०५९ मा संसद् विघटनपछि सुरु भएको राजनीतिक अस्थिरता लामो समयसम्म कायम रह्यो । राजाले प्रत्यक्ष शासन सञ्चालन गर्दै विभिन्न प्रधानमन्त्रीहरूलाई नियुक्ति र बर्खास्त गर्दै आएका थिए । अन्ततः २०६१ माघ १९ मा उनले सम्पूर्ण शासन सत्ता आफ्नै हातमा लिएपछि राजनीतिक अवस्था थप जटिल बनेको थियो ।

यसबीच सात दल र तत्कालीन सशस्त्र विद्रोहमा रहेको नेकपा (माओवादी) बीच २०६२ मङ्सिरमा भएको १२ बुँदे समझदारीले आन्दोलनलाई निर्णायक दिशातर्फ अग्रसर गर्‍यो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको आन्दोलन देशव्यापी बन्दै गयो र लाखौँ नागरिक सडकमा उत्रिए ।

२०६३ वैशाख ११ गते जनदबाबका कारण राजाले संसद् पुनर्स्थापना घोषणा गरे, जसलाई जनताको ऐतिहासिक विजयका रूपमा लिइन्छ । त्यसपछि बसेको संसद् बैठकले राजदरबारका अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो । यस ऐतिहासिक निर्णयलाई “नेपाली म्याग्नाकार्टा” पनि भनिन्छ ।

यही परिवर्तनको जगमा २०६४ मा संविधानसभा निर्वाचन सम्पन्न भयो । अन्ततः २०६५ जेठ १५ गते बसेको पहिलो संविधानसभा बैठकले २४० वर्ष लामो राजसंस्थाको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो ।

पछि दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि संघीय शासन प्रणाली कार्यान्वयनमा आयो ।

लोकतन्त्र दिवसले आज पनि नेपाली जनताको अधिकार, स्वतन्त्रता र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धतालाई स्मरण गराउने अवसर प्रदान गरिरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख ११, शुक्रबार ००:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP