मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रास्वपाका नवनिर्वाचित सांसदलाई अभिमुखीकरण सुरु, दुई दिनसम्म प्रशिक्षण

1.6K
SHARES
रास्वपाका नवनिर्वाचित सांसदलाई अभिमुखीकरण सुरु, दुई दिनसम्म प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । ललितपुरस्थित एक होटलमा आयोजित कार्यक्रममा पार्टीका उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले घन्टी बजाएर उद्घाटन गरेका हुन् ।

कार्यक्रममा रास्वपाबाट नवनिर्वाचित सांसदहरूको सहभागिता रहेको छ । संसदीय अभ्यास, विधायन प्रक्रिया, नीति निर्माण, बजेट तथा कानुन निर्माणका विभिन्न चरणहरूबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ । साथै, निर्वाचन क्षेत्रमा जनतासँग प्रभावकारी सम्बन्ध कायम राख्ने उपायबारे पनि छलफल हुने बताइएको छ ।

रास्वपाका अनुसार अभिमुखीकरणमा नेपालको संवैधानिक व्यवस्था, संसद् सञ्चालन प्रणाली, सुशासन र पारदर्शिताका मापदण्ड, नीति विश्लेषण, जनप्रतिनिधिको आचरण तथा सार्वजनिक उत्तरदायित्व जस्ता विषय समेटिएका छन् । पार्टीको नीतिगत प्राथमिकता, रणनीतिक कार्यदिशा र संसद् भित्र तथा बाहिर समन्वय कसरी प्रभावकारी बनाउने भन्नेबारे पनि साझा धारणा विकास गरिनेछ ।

दुई दिनसम्म चल्ने कार्यक्रममा पार्टीका शीर्ष नेतासहित कानुनविद्, सञ्चार तथा प्रविधि क्षेत्रका विज्ञहरूले प्रशिक्षण दिने कार्यतालिका छ । सोही क्रममा डा. वाग्लेले देशको समसामयिक अवस्था, पार्टीको प्रतिबद्धता र सांसदको भूमिकाबारे प्रशिक्षण दिनेछन् ।

त्यसैगरी, पूर्वसचिव सुरेश अधिकारीले संसद्को संरचना र कार्यप्रणाली तथा सांसदका अधिकारबारे जानकारी दिनेछन् भने पूर्वकानुन सचिव तोयानाथ अधिकारीले संघीय संसद्मा कानुन निर्माण प्रक्रियामा सांसदको भूमिकाबारे प्रशिक्षण दिनेछन् ।

आईटी विज्ञ डा. दोभान राईले कृत्रिम बुद्धिमत्ता र एल्गोरिदमको लोकतन्त्र र सुशासनमा प्रभावबारे प्रस्तुत गर्नेछन् भने पूर्वसचिव डा. तोयानारायण ज्ञवालीले सरकार सञ्चालन, योजना तथा बजेट निर्माण प्रक्रियाबारे प्रशिक्षण दिनेछन् ।

फागुन २१ मा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिक प्रणालीमार्फत थप ५७ सिट हासिल गरेको छ ।

यस्तो छ प्रशिक्षण कार्यतालिका



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र ३, मंगलवार ०७:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP