मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तुल्सीपुर घटनामा एमालेको आपत्ति, ‘सूर्य’ झण्डा जलाउनु आचारसंहिताविरुद्ध

1K
SHARES
तुल्सीपुर घटनामा एमालेको आपत्ति, ‘सूर्य’ झण्डा जलाउनु आचारसंहिताविरुद्ध

काठमाडौं । दाङको तुल्सीपुरमा नेकपा (एमाले) को चुनाव चिह्न ‘सूर्य’ अंकित झण्डा जलाइएको घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले गम्भीर आपत्ति जनाएको छ । पार्टीले उक्त घटनालाई निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन र लोकतान्त्रिक मूल्य–मान्यताविरुद्धको गतिविधि भनेको छ ।

केन्द्रीय कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति तुल्सीपुरमा एमालेको झण्डा जलाएको उल्लेख गरिएको छ । एमालेले यसलाई योजनाबद्ध रूपमा गरिएको उच्छृङ्खल र अराजनीतिक हर्कतको संज्ञा दिएको छ ।

विज्ञप्तिमा अध्यक्ष केपी शर्मा ओली विरुद्ध अपाच्य शब्द प्रयोग गर्दै नाराबाजी गरिएको तथा महासचिव शङ्कर पोखरेलको गृहनगरमै यस्तो गतिविधि हुनु दुःखद रहेको उल्लेख छ । एमालेले दलीय प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष भए पनि प्रतिस्पर्धाको नाममा आस्था र विचारमाथि आक्रमण गर्नु अस्वीकार्य हुने जनाएको छ ।

एमालेले आफू अनुशासित पार्टी भएकाले घटनाबाट उत्तेजित नभएको स्पष्ट पार्दै संयमता कमजोरी नभएको जिकिर गरेको छ । साथै, संलग्न व्यक्तिहरूको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ ।

पार्टीले सरकार मतदातालाई भयरहित, निष्पक्ष र निर्भीक वातावरणमा मतदान गर्न सक्ने अवस्था सुनिश्चित गर्न असफल भएको हो कि भन्ने प्रश्नसमेत उठाएको छ । झण्डा जलाउने घटनाबारे निर्वाचन आयोगले सम्बन्धित दलसँग स्पष्टीकरण माग गरी जवाफ सार्वजनिक गर्नुपर्ने माग एमालेको छ ।

दोषीमाथि कानुनी कारबाही नगरिए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार, निर्वाचन आयोग र सम्बन्धित दलले नै वहन गर्नुपर्ने चेतावनीसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ८, शुक्रबार ०९:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP