मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रचण्डद्वारा खिजीदेम्बा अध्यक्ष शेर्पालाई नेकपामा आउन आग्रह

2.9K
SHARES
प्रचण्डद्वारा खिजीदेम्बा अध्यक्ष शेर्पालाई नेकपामा आउन आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पालाई नेकपामा समाहित हुन आग्रह गरेका छन् । सोमबार आयोजित नेपाली कम्युनिस्ट पार्टी ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चको विशेष मतदाता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले शेर्पाजस्ता जनप्रतिनिधिलाई पार्टीले स्वागत गर्न तयार रहेको बताए ।

प्रचण्डले ओखलढुंगाबाट सुरु गरिएको कम्युनिस्ट एकताको अभियान अहिले देशव्यापी रूपमा फैलिँदै गएको दाबी गरे । विभिन्न राजनीतिक दलप्रति असन्तुष्ट नेता तथा कार्यकर्ताहरू पुनः कम्युनिस्ट आन्दोलनमा जोडिने क्रम बढिरहेको उल्लेख गर्दै उनले राजनीतिक स्थायित्व र विकासका लागि वाम शक्तिबीच सहकार्य आवश्यक रहेको धारणा राखे ।

उनले आगामी निर्वाचनलाई परिवर्तनको अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउँदै जनताका अपेक्षा पूरा गर्न सक्षम राजनीतिक शक्ति निर्माण गर्नुपर्नेमा जोड दिए । प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्दै नयाँ राजनीतिक विकल्प निर्माण गर्ने अभियान जारी रहेको पनि बताए ।

कार्यक्रममा एमाले परित्याग गरी नेकपाबाट उम्मेदवार बनेका अम्बिर बाबु गुरुङले आफ्नो चुनावी घोषणा–पत्र सार्वजनिक गरेका थिए । उनले ओखलढुंगाका सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताल स्थापना गर्ने, सडक तथा पर्यटन पूर्वाधार विकास गर्ने र क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा अघि बढाउने योजना प्रस्तुत गरे ।

एमालेबाट विद्रोह गरी नेकपामा प्रवेश गरेका जिल्ला अध्यक्ष जीवी खड्काले वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिस्ट आन्दोलनको प्रभावकारी नेतृत्व प्रचण्डबाट मात्र सम्भव रहेको दाबी गरे। देशका विभिन्न जिल्लाबाट नेता–कार्यकर्ताहरू नेकपामा प्रवेश गर्ने क्रम बढ्दै गएको उनले बताए ।

कार्यक्रममा काठमाडौं–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार इन्द्र भुसाल, खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा, समानुपातिक उम्मेदवार हेमराज खड्का र निर्मला श्रेष्ठले पनि आगामी निर्वाचन, स्थानीय विकास र राजनीतिक सहकार्यका विषयमा धारणा राखेका थिए ।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै ओखलढुंगामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) बीच कार्यगत एकता भएको पनि कार्यक्रममा जानकारी गराइएको थियो । नेताहरूले उक्त सहकार्यले चुनावी प्रतिस्पर्धामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २७, मंगलवार १३:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP