मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा निर्वाचन: विभिन्न जिल्लाको नमूना मतपत्र सार्वजनिक

1.6K
SHARES
प्रतिनिधिसभा निर्वाचन: विभिन्न जिल्लाको नमूना मतपत्र सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रका नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगका अनुसार सातै प्रदेशअन्तर्गतका जिल्लालाई समेटेर मतपत्रको नमूना सार्वजनिक गरिएको हो ।

आयोगले एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लाका लागि एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका लागि फरक प्रकारको मतपत्रको नमूना तयार गरेको जनाएको छ । साथै, उम्मेदवारको सङ्ख्याअनुसार पनि मतपत्रको आकार फरक–फरक हुने गरी नमूना सार्वजनिक गरिएको छ ।

उम्मेदवारको संख्या धेरै भएका निर्वाचन क्षेत्रमा मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो हुने र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रमा सानो आकारको मतपत्र प्रयोग हुने आयोगले स्पष्ट पारेको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र उम्मेदवार रहेको काठमाडौं जिल्लामा प्रयोग हुने मतपत्रको आकार ठूलो हुने जनाइएको छ ।

आयोगका अनुसार कर्णाली प्रदेशका सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा एक–एक मात्र निर्वाचन क्षेत्र रहेका छन् भने दैलेख र सुर्खेतमा दुई–दुई निर्वाचन क्षेत्र छन् । ती जिल्लाका वास्तविक मतपत्रको नमूनासमेत सार्वजनिक गरिएको छ ।

यसैगरी, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरामा एक–एक निर्वाचन क्षेत्र रहेको छ । अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेका छन् । ती सबै निर्वाचन क्षेत्रका वास्तविक मतपत्रको नमूना पनि आयोगले सार्वजनिक गरेको छ ।

अन्य जिल्लाका निर्वाचन क्षेत्रका वास्तविक मतपत्र पनि क्रमशः सार्वजनिक गर्दै जाने आयोगले जनाएको छ । हाल जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी रहेको र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगको भनाइ छ ।

मतदाता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न जिल्लाका नमूना मतपत्र तयार पारेर सचेतना कार्यक्रम सञ्चालन भइरहेको आयोगले जनाएको छ । ती नमूना मतपत्र मतदान केन्द्रसम्म पुर्‍याउने कामसमेत अघि बढाइएको आयोगले जानकारी दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १६, शुक्रबार ०१:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP