मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

डेडिकेटेड–ट्रंक लाइन महसुल विवादमा विद्युत् प्राधिकरणको निर्णयलाई आयोगद्वारा अनुमोदन

3K
SHARES
डेडिकेटेड–ट्रंक लाइन महसुल विवादमा विद्युत् प्राधिकरणको निर्णयलाई आयोगद्वारा अनुमोदन

काठमाडौं । विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरण र दुई उद्योगबीचको ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ सम्बन्धी महसुल विवादमा प्राधिकरणकै पक्षमा निर्णय सुनाएको छ । आयोगले उद्योगहरूका माग र उजुरीका आधारमा गरिएको सुनुवाइपछि प्राधिकरणले उठाउँदै आएको बक्यौता सही रहेको ठहर गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

उद्योगहरूको लामो समयदेखि महसुल अटेर
पञ्चकन्या प्लास्टिक इन्डस्ट्रीज प्रालि र पञ्चकन्या स्टिलले प्राधिकरणबाट प्राप्त डेडिकेटेड तथा ट्रंक लाइन सेवामार्फत आपूर्ति भएको विद्युत्को महसुल वर्षौंदेखि तिर्न टार्दै आएको भन्दै प्राधिकरणले बारम्बार सूचना तथा तिर्नु पर्ने समय तोकेर आएका थियो । नियमअनुसार तोकिएको समयसीमा नाघेपछि प्राधिकरणले कात्तिक ४ र ५ गते २१ दिने अन्तिम चेतावनीसहित दुवै उद्योगका लाइन विच्छेद गरेको थियो ।

सुनुवाइ र इजलासका निष्कर्ष
लाइन काटिएपछि दुवै उद्योगले पहिलो किस्ताबापतको रकम बुझाउँदै विद्युत् नियमन आयोगमा पुनरावलोकनका लागि निवेदन दर्ता गराएका थिए । आयोगका अध्यक्ष डा. रामप्रसाद धितालसहित पाँच सदस्यीय इजलासमा सुनुवाइ भएको थियो । प्राधिकरणको पक्षबाट राजकुमार पोखरेल, रमेशकुमार घिमिरे र तुलाराम गिरीले बहस गरेका थिए भने उद्योगहरूको तर्फबाट अधिवक्ता रोजन खड्का उपस्थित थिए ।

इजलासले उपलब्ध तथ्य, कानुनी प्रावधान र व्यवसायिक शुल्क निर्धारण प्रक्रियाको मूल्यांकन गर्दै प्राधिकरणको निर्णय नै विधिसम्मत भएको ठहर गरेको आयोगले जनाएको छ ।

प्राधिकरणको अधिकारलाई कानुनी मान्यता
आयोगका अनुसार निर्धारित रकम समयमै नबुझाउने उपभोक्ताको लाइन काट्ने व्यवस्थालाई विद्यमान कानुनी संरचनाले स्पष्ट रूपमा वैधता दिएको छ । प्राधिकरणले पनि यही कानुनी चौकटीअनुसार कदम चालेको ठहर गर्दै आयोगले उद्योगहरूलाई अन्तरिम राहत दिन नपाइने निर्णय सुनाएको हो ।

अदालतमा जाने बाटो खुलै
आयोगले आफ्नो निर्णयप्रति असन्तुष्टि भए उद्योगहरूले न्यायिक उपचारका लागि अदालत धाउन सक्ने व्यवस्था खुला रहेको स्पष्ट पारेको छ । यससँगै डेडिकेटेड तथा ट्रंक लाइन सम्बन्धी महसुल विवाद अब न्यायालयमा पुग्ने सम्भावना कायमै देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १, सोमबार ००:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP