मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नयाँ ‘नेपाली कम्युनिष्ट पार्टी’: तीन पूर्वप्रधानमन्त्री र तीन पूर्वसभामुखको सशक्त नेतृत्व

3.7K
SHARES
नयाँ ‘नेपाली कम्युनिष्ट पार्टी’: तीन पूर्वप्रधानमन्त्री र तीन पूर्वसभामुखको सशक्त नेतृत्व

काठमाडौं । नेपालमा फेरि एउटा ठूलो वाम गठबन्धनको स्वरूपमा नयाँ दल जन्मिएको छ— ‘नेपाली कम्युनिष्ट पार्टी (नेकपा)’। माओवादी केन्द्र र एकीकृत समाजवादीसहित १२ वटा घटक मिलेर बनेको यो नयाँ शक्तिलाई अहिले देशको सबैभन्दा सशक्त वाम राजनीतिक संयोजनका रूपमा हेरिएको छ ।

पार्टीको नेतृत्वमा देशका तीन पूर्वप्रधानमन्त्री र तीन पूर्वसभामुख छन् । यति धेरै अनुभवी नेतृत्व एउटै दलमा एकत्रिनु पछिल्ला वर्षहरूमा असाधारण राजनीतिक घटना मानिएको छ ।

प्रचण्ड संयोजक, माधव सहसंयोजक
तीनपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ नेकपाका संयोजक बनेका छन् । पार्टीको संरचना अनुसार उनले नै संगठन, नीतिगत र रणनीतिक निर्णयहरूमा प्रमुख भूमिका निर्वाह गर्नेछन् ।

त्यस्तै, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहसंयोजकका रूपमा दोस्रो स्थानमा छन् । उनी र प्रचण्डबीच ‘साझा नेतृत्व’को सहमति भएको बताइन्छ । पार्टीले अहिले संयोजक र सहसंयोजकबाहेक अरू पदाधिकारी घोषणा गरेको छैन ।

झलनाथ खनाल अन्तिम क्षणमा नेकपातिर
पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि अन्तिम क्षणमा नेकपातिर आकर्षित भएका हुन् । प्रारम्भिक रूपमा उनी एमाले फर्किने तयारीमा थिए र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट पनि गरेका थिए । तर अन्ततः नयाँ नेकपामा आबद्ध हुँदै उनले ‘एकीकृत वाम एकता’को समर्थन गरे ।

खनाललाई आगामी निर्वाचन र आन्तरिक राजनीतिक नीतिसम्बन्धी उच्चस्तरीय कार्यदलको नेतृत्व दिने तयारी भइरहेको स्रोतले जनायो ।

भीम रावलको ‘राष्ट्रिय’ इन्ट्री
पूर्वउपप्रधानमन्त्री भीम रावलले बुधबार औपचारिक रूपमा नेकपामा प्रवेश गरे । प्रचण्डले उनलाई अङ्कमाल गर्दै स्वागत गरेपछि कार्यकर्तामा नयाँ उत्साह देखिएको छ ।

रावलको प्रवेशले पार्टीभित्र ‘राष्ट्रियता’को धारलाई सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ । उनको लोकप्रियता विशेषतः सुदूरपश्चिम र देशभक्त मतदाताबीच रहेकोले नेकपालाई चुनावी हिसाबले लाभ पुग्ने विश्लेषण गरिएको छ ।

पूर्वउपप्रधानमन्त्रीहरूको बलियो उपस्थिति
नेकपामा थप तीन पूर्वउपप्रधानमन्त्रीहरू (वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा) पनि सक्रिय छन् । वरीयताका हिसाबले प्रचण्ड र माधवपछि झलनाथ, वामदेव र नारायणकाजी क्रमशः अगाडि रहने जनाइएको छ । बुधबार प्रवेश गरेका भीम रावललाई छैटौँ वरीयता दिने तयारी गरिएको बुझिएको छ ।

सभामुख र महिला नेतृहरूको भूमिकाबारे
पार्टीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन तथा पूर्वसभामुखहरू अग्नी सापकोटा, ओनसरी घर्ती र कृष्णबहादुर महरा पनि सामेल छन् । यद्यपि उनीहरूको औपचारिक भूमिका र पोजिसन अझै टुंगोमा पुगेको छैन । सम्भवतः उनीहरूलाई हाइकमाण्ड तहमा समावेश गरिनेछ ।

यसैगरी महिला नेतृ पम्फा भुषाल पनि शीर्ष नेतृत्वमा प्रवेश गर्ने प्रबल सम्भावना छ । महरा भने अहिले कानुनी प्रक्रियाका कारण जेलमा छन् ।

एमालेभन्दा ‘हेभिवेट’ नेतृत्व
विश्लेषकहरूले अहिलेको नेकपाको नेतृत्वलाई एमालेभन्दा बढी वजनदार मानेका छन् । एमालेमा अध्यक्ष केपी शर्मा ओली मात्र पूर्वप्रधानमन्त्री हुन् भने नेकपामा तीन–तीन पूर्वप्रधानमन्त्री र सभामुखहरूको उपस्थितिले ठूलो राजनीतिक सन्देश दिएको छ ।

पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेमा पुनः सक्रिय हुने इच्छा राखे पनि ओलीले त्यस्तो पहल नगरेका बताइन्छ । झलनाथ खनाललाई पनि फर्काउने चासो नदेखाएकाले एमालेले दुईजना ‘हेभिवेट’ नेताहरू गुमाएको टिप्पणी गरिन्छ ।

वाम राजनीति फेरि नयाँ ढाँचामा
राजनीतिक समीक्षकहरूको मतमा, नयाँ नेकपा केवल दलहरूको एकता होइन, वाम आन्दोलनलाई पुनर्जीवित गर्ने प्रयास हो । प्रचण्ड र माधवको सहकार्य दीर्घकालीन टिकाउ हुन सकेमा नेपालको वाम राजनीतिमा फेरि ठूलो मोड आउने सम्भावना देखिएको छ ।

यद्यपि पार्टीभित्र पुराना मतभेद, नेतृत्व आकांक्षा र रणनीतिक असहमतिहरू समाधान हुन सकेनन् भने, यो नयाँ प्रयोग पनि अघिल्ला एकताजस्तै असफल हुन सक्ने चेतावनी विश्लेषकहरूले दिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २७, बिहीबार ००:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP