मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रास्वपाको चितवन बैठक: निर्वाचन तयारीदेखि आन्तरिक रूपान्तरणसम्मका निर्णय

2.2K
SHARES
रास्वपाको चितवन बैठक: निर्वाचन तयारीदेखि आन्तरिक रूपान्तरणसम्मका निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा सम्पन्न भएको छ । देशभरबाट करिब चार सय आमन्त्रित प्रतिनिधिहरूको सहभागिता रहेको बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, आगामी प्रतिनिधिसभा निर्वाचन, जनजीविकाका सवाल तथा पार्टीको आन्तरिक रूपान्तरणबारे गहन छलफल गरिएको प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेतृत्वबाट प्रतिवेदन प्रस्तुति
बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति डा.स्वर्णिम वाग्लेले चुनावी वाचापत्रको अवधारणा, महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन, सह(महामन्त्री विपिनकुमार आचार्यले उम्मेदवार छनोट रूपरेखा र सचिवालय सदस्य दीपक बोहराले हस्ताक्षर अभियानसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । यी पाँचै प्रतिवेदनमाथि सात समूहमा छलफल गरी प्राप्त सुझावहरू केन्द्रीय समितिले ग्रहण गर्ने निर्णय गरेको छ ।

निर्वाचन र प्रवासी मतदानप्रति जोड
बैठकले फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारलाई आग्रह गरेको छ । साथै, विदेशमा रहेका नेपालीहरूलाई मतदानमा सहभागी हुने व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।

उम्मेदवार छनोट र प्रचार अभियान
रास्वपाले जनविश्वास र जनमत आफ्नो पक्षमा केन्द्रित गर्न पार्टीका सम्पूर्ण संरचना, सदस्य र शुभेच्छुकहरूलाई प्रभावकारी अभियानमा जुट्न आह्वान गरेको छ । उम्मेदवार छनोटदेखि प्रचार अभियानसम्मका सबै प्रक्रिया पूर्णतः पारदर्शी र निष्पक्ष हुने प्रतिबद्धता पनि बैठकले जनाएको छ ।

जेन–जी आन्दोलन र नयाँ पुस्ताको सहभागिता
बैठकले हालैको जेन–जी आन्दोलनका क्रममा भएका मानवता विरोधी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ । साथै, आन्दोलनको भावना अनुसार राज्य संयन्त्रमा नयाँ पुस्ताको सार्थक सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।

आन्तरिक लोकतन्त्र र रूपान्तरण
रास्वपाले पार्टीभित्र आन्तरिक लोकतन्त्र र समावेशिता सुदृढ गर्ने, रूपान्तरणको आवाजलाई विधिसम्मत ढंगले सम्बोधन गर्ने र निर्णय प्रक्रियामा सबै तहका सदस्यको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।

सहकार्य र भ्रष्टाचारविरुद्ध अभियान
बैठकले बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि समान विचार भएका परिवर्तनकारी शक्तिसँग सहकार्य र संवादमा जोड दिने निर्णय गरेको छ । साथै, भ्रष्टाचारमुक्त समाज, पारदर्शी शासन र जनजीविकाको सुधारका पक्षमा निरन्तर पैरवी र दबाबमूलक अभियान सञ्चालन गरिने जनाएको छ ।

सभापति लामिछानेमाथि मुद्दा र न्यायिक माग
बैठकले सभापति रवि लामिछानेमाथि दायर मुद्दा राजनीतिक प्रतिशोधका कारण लगाइएको भन्दै न्यायालयलाई निष्पक्ष र द्रुत न्यायिक प्रक्रियामार्फत् निष्कर्ष निकाल्न माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, “सरकारले शक्तिको दुरुपयोग गरी विपक्षी विचारलाई दबाउने प्रवृत्तिले जनताको म्यान्डेटमाथि प्रहार गरेको छ ।”

महाधिवेशन र उम्मेदवारको मापदण्ड
अप्रत्याशित राजनीतिक परिस्थितिका कारण फागुनमा निर्वाचन तय भएपछि पार्टीले पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न नसकिने जनाएको छ । निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र महाधिवेशन गर्ने तयारी थाल्न केन्द्रीय समितिलाई आग्रह गरिएको छ ।

समानुपातिक प्रणालीतर्फका उम्मेदवारका लागि आह्वान गर्दै सह(महामन्त्री विपिनकुमार आचार्यले तयार पारेको रूपरेखाअनुसार उम्मेदवारले शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण, सार्वजनिक पदको दुरुपयोग नगरेको स्वघोषणा, आर्थिक पारदर्शिता र वैध वैवाहिक अवस्था प्रमाणित गर्ने शर्त पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

युवा र प्रवासी प्रतिनिधित्वमा जोड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूचीमा २५ देखि ४० वर्ष उमेर समूहका युवालाई २७ प्रतिशत र प्रवासी नेपालीलाई १० प्रतिशत प्रतिनिधित्व दिने निर्णय गरेको छ । साथै, २०७९ सालमा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेकाहरूलाई पुनः उम्मेदवार बन्न नपाइने व्यवस्था पनि गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २३, आईतवार ००:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP