मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

श्रद्धा र उल्लासका साथ भाइटीका मनाइँदै, उत्तम साइत ११:३९ मा

4.6K
SHARES
श्रद्धा र उल्लासका साथ भाइटीका मनाइँदै, उत्तम साइत ११:३९ मा

काठमाडौं । तिहारको मुख्य दिन आज देशभर दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र स्नेहका साथ टीका लगाई उनीहरूको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै भाइटीका मनाइँदैछ ।

कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका यस वर्ष तिथि वृद्धि भई तिहारको छैटौँ दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यो दिनलाई यमद्वितीया पनि भनिन्छ । यमराज र उनकी बहिनी यमुनाबीचको भेटघाटको प्रतीकका रूपमा भाइटीका मनाइने धार्मिक मान्यता छ ।

दिदीबहिनीद्वारा दाजुभाइलाई दीर्घायुको कामना
आजको दिन दिदीबहिनीहरूले पूजा गरेर दाजुभाइको ललाटमा पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउँछन् । टीका लगाउँदा रातो, सेतो, पहेँलो, हरियो र नीलो रङ्गको प्रयोग गर्न शास्त्रीय रूपमा उल्लेख गरिएको छ । दिदीबहिनीले दाजुभाइको निधारमा टीका लगाएर फूलमाला अर्पण गर्छन् र दीर्घायु, ऐश्वर्य र सफलता प्राप्तिको आशीर्वाद दिन्छन् ।

टीका लगाइसकेपछि दाजुभाइले पनि आफ्नी दिदीबहिनीलाई टीका र फूलमाला लगाएर सम्मान र स्नेह प्रकट गर्छन् । यस अवसरमा दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला, सेलरोटी लगायतका परम्परागत परिकार अर्पण गर्छन् भने दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा र उपहार दिई कृतज्ञता प्रकट गर्ने प्रचलन छ ।

शुभ साइत र दिशाको धार्मिक नियम
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिनभर टीका लगाउन कुनै बाधा छैन । तथापि, साइत खोज्नेका लागि बिहान ११ः३९ बजेको अभिजित् मुहूर्त सर्वोत्तम रहेको बताइएको छ ।

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्वतर्फ र लगाइने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसरी गर्दा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्नेछन्, जसले शुभ कर्मलाई अझ मंगलमय बनाउने विश्वास छ । शास्त्रीय नियमअनुसार कुनै पनि शुभ कर्म गर्दा चन्द्रमालाई दाहिने वा सम्मुख पारेर गर्नुपर्छ भन्ने परम्परा छ ।

धार्मिक विधि र पूजाआराधना
टीका लगाउनुअघि दिदीबहिनीहरूले लक्ष्मी पूजाको दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गर्छन् । त्यसपछि मूल थालीमा अंकित अष्टदलमा अष्ट चिरञ्जीवी (मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम) को स्मरणसहित पूजा आरम्भ गरिन्छ । साथै चित्रगुप्त, यमराज, यमुना, धर्मराज, गणपत्यादि देवता, वनस्पति र नवग्रहको समेत आव्हान गरी भाइको कल्याणका लागि प्रार्थना गरिन्छ ।

भाइटीका : दाजुभाइ र दिदीबहिनीबीचको अमर बन्धन
भाइटीका केवल धार्मिक विधि मात्र होइन, दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, कर्तव्य र पारिवारिक सम्बन्धलाई बलियो बनाउने पर्व पनि हो । यो दिनले नेपाली परिवारमा पारस्परिक स्नेह, एकता र कृतज्ञताको सन्देश फैलाउँछ ।

आज देशभर घरघरमा उत्सवमय माहोल छ— टीका, माला, मिठा परिकार र हाँसो-खिलखिलाहटले तिहारको वातावरण उज्यालो बनेको छ । भाइटीका मार्फत दिदीबहिनी र दाजुभाइबीचको स्नेहको सम्बन्ध अझ गहिरो बनोस् भन्ने सबैको कामना छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ६, बिहीबार ००:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP