मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘गफ होइन काम, भाषण होइन परिणाम’ नारासहित उज्यालो नेपाल पार्टीको घोषणापत्र सार्वजनिक

1.5K
SHARES
‘गफ होइन काम, भाषण होइन परिणाम’ नारासहित उज्यालो नेपाल पार्टीको घोषणापत्र सार्वजनिक

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मूल नारासहित घोषणापत्र सार्वजनिक गर्दै पार्टीले शासकीय सुधार, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिलाई प्रमुख प्राथमिकतामा राखेको जनाएको छ ।

घोषणापत्रमा शासकीय संरचनामा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै प्रदेश तहमा स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था प्रस्ताव गरिएको छ । साथै, राज्यको खर्च घटाउने उद्देश्यले सङ्घीय सांसदको संख्या हालको २७५ बाट २०१ र प्रदेश सांसदको संख्या ५५० बाट ३३० मा सीमित गर्ने तथा मन्त्रालयको संख्या पनि घटाउने योजना अघि सारिएको छ ।

भ्रष्टाचार नियन्त्रणलाई मुख्य एजेन्डा बनाएको पार्टीले शून्य सहनशीलताको नीति अवलम्बन गर्ने जनाएको छ । भ्रष्टाचारमा संलग्न व्यक्तिलाई सार्वजनिक पदमा आजीवन प्रतिबन्ध लगाउने र अवैध सम्पत्ति राष्ट्रियकरण गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएको छ । मतदातालाई उम्मेदवार अस्वीकार गर्ने अधिकार दिन ‘नो भोट’को विकल्प उपलब्ध गराउने प्रस्तावसमेत गरिएको छ ।

आर्थिक तथा सामाजिक क्षेत्रका लागि पार्टीले महत्त्वाकाङ्क्षी लक्ष्य सार्वजनिक गरेको छ । सन् २०३० सम्म वार्षिक ९ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने र हरेक वर्ष ९ लाख रोजगारी सिर्जना गर्ने योजना प्रस्तुत गरिएको छ । ‘उज्यालो नेपाल’ अभियानअन्तर्गत प्रत्येक घरपरिवारलाई जलविद्युत् आयोजनामा कम्तीमा १ हजार कित्ता सेयर प्राथमिक मूल्यमै उपलब्ध गराउने बाचा गरिएको छ ।

यसैगरी, विश्वविद्यालय तहसम्म निःशुल्क शिक्षा र तोकिएका स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था गर्ने, साथै ‘कमाउँदै पढ्दै’ नीतिअन्तर्गत विद्यार्थीलाई इन्टर्नसिपको अवसर प्रदान गर्ने प्रतिबद्धता पनि पार्टीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ३, आईतवार ०९:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP