मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देउवाले खड्कालाई दिए कार्यवाहक सभापतिको जिम्मेवारी

3.2K
SHARES
देउवाले खड्कालाई दिए कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्वास्थ्य अवस्थालाई कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा उनले यो घोषणा गरेका हुन् ।

बैठकमा सभापति देउवाले पार्टीलाई विषम परिस्थितिमा एकताबद्ध हुन आह्वान गरे । उनले पार्टीभित्रका सम्पूर्ण मतभेद भुल्न र संगठनलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्तालाई आह्वान गरे ।

देउवाले स्पष्ट रूपमा १५औँ महाधिवेशनपछि नेतृत्वबाट आफू अलग हुने घोषणा गरे । उनले भने, “घरमा सधैं एकै जना मूली रहँदैन, पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन ।”

नेपाली कांग्रेसको हालको केन्द्रीय कार्यसमिति १४औँ महाधिवेशनबाट निर्वाचित हो र यसको कार्यकाल आगामी मंसिर मसान्तमा समाप्त हुँदैछ । पार्टी विधानले कार्यसमितिको कार्यकाल एक वर्ष थप्न सकिने व्यवस्था गरेको छ ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलनमा जुटेका छन् । अर्कोतर्फ डा. शेखर कोइराला नेतृत्वको इतर समूहले मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने अडान राखेको छ ।

संस्थापन पक्षले मंसिरभित्र महाधिवेशन गर्न समय अपुग हुने भन्दै केही समय थपेर विधिवत् प्रक्रिया पुर्‍याएर महाधिवेशन गर्नुपर्ने बताउँदै आएको छ ।

केन्द्रीय सदस्य उदयशमशेर राणाले सभापतिले महाधिवेशनको तयारी र कार्यतालिका सार्वजनिक गर्न कार्यवाहक सभापतिलाई निर्देशन दिएको उल्लेख गर्दै अब त्यसको कार्यान्वयनको जिम्मेवारी पदाधिकारीहरूमा आएको बताए ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले देउवाले नेतृत्व हस्तान्तरणको तयारी गरिसकेकाले विशेष महाधिवेशनको माग गर्नु अनुचित भएको टिप्पणी गरे । उनले पार्टीभित्रकै नेताबाट नेतृत्वमाथि प्रश्न उठाउनु अनुचित भएको बताएका छन् ।

महामन्त्री गगन थापा पक्षीय नेतृ प्रतिमा गौतमले कार्यवाहक सभापति तोकिएकोले मंसिरमा महाधिवेशन हुन नहुने भन्ने कुरा नमानिने बताइन् । उनले महाधिवेशन तोकिएको म्यादभित्रै गर्न दबाब दिने उद्देश्यले हस्ताक्षर बुझाउने तयारी भइरहेको जनाइन् ।

सभापति देउवाले कार्यवाहक तोकेसँगै नेतृत्व हस्तान्तरणको संकेत दिए पनि १५औँ महाधिवेशन कहिले र कुन प्रक्रिया मार्फत हुन्छ भन्ने विषयमा पार्टीभित्र विवाद कायमै छ । सहमति जुटाउने कि शक्ति परीक्षण गर्ने भन्ने चुनौती कार्यवाहक नेतृत्वको काँधमा आएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २८, मंगलवार १४:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP