मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चौधरीले नागरिक उन्मुक्ति पार्टीसँगको सम्बन्ध तोडे, नयाँ राजनीतिक यात्रा घोषणा

2.5K
SHARES
चौधरीले नागरिक उन्मुक्ति पार्टीसँगको सम्बन्ध तोडे, नयाँ राजनीतिक यात्रा घोषणा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले आइतबार आफूले स्थापना गरेको पार्टीसँग सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । फेसबुक लाइभमार्फत भावुक हुँदै उनले अब नयाँ राजनीतिक यात्रा सुरु गर्ने बताएका हुन् ।

चौधरीले पार्टीभित्र बारम्बार ‘साधारण सदस्य पनि नभएको’ र ‘कानुनी हैसियत नभएको’ भन्दै अपमानित गरिएको गुनासो गर्दै यो कठोर निर्णय लिनु परेको बताए ।

फेसबुक लाइभमा उनले पार्टी स्थापनादेखि हालसम्म गरेका योगदानहरूको विस्तृत विवरण प्रस्तुत गरे । डिल्लीबजार कारागारमै रहँदा नेताहरुलाई तातो कफी खुवाएको, घरभाडा तिरेर वर्षौंसम्म साथ दिएको र किताब बेचेर, क्षतिपूर्तिबाट आएको रकम र निजी सम्पत्ति बेचेर पनि पार्टी सञ्चालनमा लगानी गरेको स्मरण गराए । तर, यति योगदानपछि पनि उल्टै अपमानित हुनुपरेको भन्दै उनले गहिरो पीडा व्यक्त गरे ।

उनका अनुसार, पछिल्लो बैठकमा उनलाई ‘कानुनी हैसियत नभएको व्यक्ति’ भन्दै सहभागी हुन रोकिएको थियो । यही कारणले उनले पार्टीबाट अलग हुने घोषणा गरे ।

‘आजदेखि म नागरिक उन्मुक्ति पार्टीमा छैन, अब म नयाँ अभियानमा छु,’ उनले भने ।

चौधरीले पार्टीभित्रको पद–प्रतिस्पर्धा, आन्तरिक विवाद र आफूप्रतिको व्यवहारबाट आजित भएको जनाए ।

‘कहिले २१ जनाको रोइलो, कहिले १६ जनाको रोइलो, कहिले मन्त्री चाहियो, कहिले संसदीय दलको नेता बदल्नुपर्ने भयो— म अब यी सबैबाट मुक्त हुन चाहन्छु,’ उनले भने ।

नयाँ पार्टी, पुरानै चुनाव चिह्नको दाबी
चौधरीले अब नागरिक उन्मुक्ति पार्टी नेपाल नामक नयाँ पार्टीको नेतृत्व गर्ने घोषणा गरे । उनले आफ्नो चुनाव चिह्न पनि पुरानै रहने दाबी गरे । निर्वाचन आयोगले स्वीकृति नदिएसम्म आफ्ना विचार र आवाज बोल्ने विश्वासिलो व्यक्तिलाई अगाडि सारेर राजनीति गर्ने योजनासमेत उनले सार्वजनिक गरे ।

उनले धनगढीका मेयर गोपाल हमाल र धरानका मेयर हर्क साम्पाङजस्ता स्वतन्त्र नेताहरूको संघर्ष नियालिरहेको र उनीहरूसँग हातेमालो गर्दै अघि बढ्ने इच्छा व्यक्त गरे । साथै, पुराना समर्थकहरूलाई नयाँ अभियानमा साथ दिन आह्वान गरे ।

चौधरीले नागरिक उन्मुक्ति पार्टीले राजबन्दी रिहाइमा खेलेको भूमिकाको प्रशंसा गर्दै अध्यक्ष रञ्जिता श्रेष्ठलगायतलाई धन्यवाद दिए । तर, पछिल्लो यात्रा दुःखद भएको भन्दै अब अलमलिन नचाहेको प्रस्ट पारे ।

‘धेरै अलमलिनुभन्दा बाटो बदल्नु नै बेस, आजसम्म साथ दिनुभयो, धेरै धेरै धन्यवाद,’ उनले भने ।

चार वर्षमै पार्टी परित्याग
टीकापुर घटनाको जगमा २०७८ फागुन ३ गते जेलमै रहँदा चौधरीले नागरिक उन्मुक्ति पार्टी खोलेका थिए । छोटो अवधिमै पार्टी कैलालीमा ठूलो शक्ति बनेर उदायो । संघीय संसदमा तीन र प्रदेश सभामा पाँच सिट जितेर पार्टीले प्रभाव जमाएको थियो । तर, आन्तरिक विवाद र असहमतिको कारण चौधरीले स्थापना गरेको पार्टी खुलेको चार वर्षमै छोडेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २९, आईतवार ०४:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP