मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पूर्वराष्ट्रपति भण्डारीको निर्णयः ‘राजनीतिमा फर्किएपछि सेवा सुविधा लिदिनँँ’

3.3K
SHARES
पूर्वराष्ट्रपति भण्डारीको निर्णयः ‘राजनीतिमा फर्किएपछि सेवा सुविधा लिदिनँँ’

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पाउने सरकारी सेवा सुविधाहरू फिर्ता गर्ने निर्णय गरेकी छन् । उनले यससम्बन्धी निवेदन गृह मन्त्रालयमा दर्ता गराएकी छिन्, जुन आज अर्थात् असार १८ गतेदेखि लागू हुने गरी पेश गरिएको हो ।

भण्डारीनिकट एक स्रोतका अनुसार उनले पूर्वराष्ट्रपतिका रूपमा प्राप्त हुँदै आएका सवारी साधन, निजी सुरक्षा, सरकारी निवासलगायतका सबै सेवा सुविधा त्याग्ने घोषणा गरेकी हुन् । ‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ,’ स्रोतले भन्यो, ‘आजकै मितिबाट ती सेवा नलिने स्पष्ट उल्लेख गरिएको छ ।’

उनको यो निर्णय असार १४ गतेको घोषणासँग प्रत्यक्ष सम्बन्धित देखिन्छ । सो दिन उनले आफू नेकपा (एमाले)को सक्रिय राजनीतिमा औपचारिक रूपमा फर्किएको सार्वजनिक गरेकी थिइन् । राजनीतिक गतिविधिमा सक्रिय भएपछि उनले पूर्वराष्ट्रपतिका हैसियतमा पाउने विशेष सेवा सुविधा लिनु उचित नहुने ठहर गरेको बताइएको छ ।

गृह मन्त्रालयले पनि पूर्वराष्ट्रपति भण्डारीबाट सेवा सुविधा फिर्ता गर्न माग गर्दै प्राप्त निवेदनबारे पुष्टि गरेको छ । मन्त्रालयका एक अधिकारीले भने, ‘निवेदन प्राप्त भइसकेको छ र कानुनी प्रक्रिया अनुसार सेवा सुविधा रोक्ने तयारी भइरहेको छ ।’

पूर्वराष्ट्रपतिले दलगत राजनीतिमा फर्किएपछि पनि राज्यका विशिष्ट सेवा सुविधा प्रयोग गरिरहनु संविधानको मर्म विपरीत हुने टिप्पणीहरू सार्वजनिक रूपमा भइरहेका थिए । यसबारे सञ्चारमाध्यम, कानुन व्यवसायी र नागरिक समाजले आलोचना गर्दै आएका थिए ।

भण्डारीले आफ्नो दोस्रो कार्यकाल सकिएलगत्तै राजनीतिक गतिविधिमा चासो देखाउन थालेकी थिइन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको निरन्तर भेटघाट, पार्टीका कार्यक्रमहरूमा उपस्थितिको क्रम र पछिल्लोपटकको आधिकारिक घोषणाले उनले पूर्वराष्ट्रपति भएर ‘निष्क्रिय’ बस्न नसक्ने संकेत पहिल्यै दिइसकेकी थिइन् ।

अब भण्डारीको राजनीतिक पुनरागमनले एमालेको आन्तरिक राजनीति, आगामी निर्वाचन रणनीति र सत्ता समीकरणमा के कस्तो असर पार्छ भन्ने चर्चा सुरु भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १८, बुधबार ११:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP