मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बीपी राजमार्गमा बढ्यो सवारी चाप, मालवाहकलाई राति मात्र सञ्चालन गर्न अनुमति

520
SHARES
बीपी राजमार्गमा बढ्यो सवारी चाप, मालवाहकलाई राति मात्र सञ्चालन गर्न अनुमति

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा केही दिनअघि आएको बाढीका कारण सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा सवारीसाधनको चाप बढेको छ । सवारी चाप बढेसँगै काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले राजमार्गमा ट्राफिक व्यवस्थापनका लागि आलोपालो प्रणाली लागू गरेको छ ।

जिल्लास्थित सुरक्षा समितिको बैठकले मालवाहक सवारीसाधनलाई रातको समयमा मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ । साथै, बीपी राजमार्गमा १० टनभन्दा बढी तौलका सवारीसाधन सञ्चालनमा कठिनाइ हुने भएकाले तौल सीमा कायम गरिएको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सडकमा जाम हुन नदिन ट्राफिक प्रहरी तथा जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँग समन्वय गरी सवारी सञ्चालनको समय व्यवस्थापन गरिएको छ । धुलिखेलबाट खुर्कोटतर्फ जाने र खुर्कोटबाट धुलिखेलतर्फ आउने मालवाहक सवारीसाधन बाटोमा एकआपसमा क्रस नहुने गरी सम्भव भएसम्म समय मिलाइएको उनले बताए ।

ग्यास बुलेटलगायत ठूला मालवाहक सवारीसाधनलाई बीपी राजमार्गको धुलिखेल–भकुण्डे सडकखण्डमा सुरक्षाकर्मीको उपस्थितिमा मात्रै सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ ।

यसैबीच, डिभिजन सडक कार्यालय भक्तपुरले दुर्घटनाको जोखिम रहेका साँघुरा घुम्ती तथा सडक अवरुद्ध हुनसक्ने स्थान पहिचान गरी तत्काल सुधारका काम अघि बढाउने जनाएको छ ।

कार्यालयका प्रमुख वरिष्ठ डिभिजनल इन्जिनियर सुमन योगेशले जोखिमयुक्त स्थानमा सवारीसाधनलाई सहज रूपमा आवतजावत गराउन तथा सडक अवरुद्ध हुन नदिन डोजरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राखिएको जानकारी दिए ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १९, शुक्रबार ००:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP