मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विपत्तिमा एकजुट हुन सर्वदलीय बैठकको निष्कर्ष, उद्धार र पुनर्स्थापनामा जोड

559
SHARES
विपत्तिमा एकजुट हुन सर्वदलीय बैठकको निष्कर्ष, उद्धार र पुनर्स्थापनामा जोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले प्राकृतिक विपत्तिको सामना गर्न सबै राजनीतिक शक्ति एकजुट भएर अघि बढ्ने निष्कर्ष निकालेको छ ।

बैठकमा सहभागी नेताहरूले तत्काल राजनीतिक बहस र आरोप–प्रत्यारोपमा नअल्झिई खोजी, उद्धार, उपचार तथा राहतलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । विपत्तिमा परेका नागरिकको जीवन रक्षा गर्नु राज्यसहित सबै राजनीतिक दलको पहिलो दायित्व भएको उनीहरूको भनाइ थियो ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपत्तिको समयमा मानवीय क्षति न्यूनीकरणमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनले सरकारलाई सरकारी तथा निजी क्षेत्रका सबै हेलिकप्टर उद्धार कार्यमा परिचालन गर्न आग्रह गर्दै आवश्यक परे राजनीतिक दलका युवाहरूलाई समेत उद्धारमा खटाउनुपर्ने धारणा राखे ।

थापाले विपत्तिलाई राजनीतिकरण नगरी सबै दल एक ठाउँमा उभिनुपर्ने बताए । उनका अनुसार अहिलेको प्राथमिकता मानिसको जीवन बचाउनु र थप मानवीय क्षति रोक्नु हो ।

सामाजिक सञ्जालमा विपत्तिसँग सम्बन्धित भ्रामक सामग्री तथा संवेदनशील दृश्यहरू अनियन्त्रित रूपमा सार्वजनिक भइरहेको भन्दै थापाले त्यसतर्फ पनि राज्यका निकायले ध्यान दिनुपर्ने बताए । उद्धार र राहतपछि सीमावर्ती क्षेत्रमा हरेक वर्ष दोहोरिने बाढीको समस्या समाधानका लागि चीनसँग समन्वय गरेर दीर्घकालीन उपाय खोज्नुपर्ने उनको भनाइ थियो ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि राज्यको तत्कालीन प्राथमिकता नागरिकको जीवन रक्षा भएको बताए । उनले खोजी, उद्धार, उपचार, राहत र पुनर्स्थापनाका लागि सरकार, राजनीतिक दल तथा सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।

दाहालले छिमेकी मुलुकसँग तत्काल समन्वय गरी सूचना तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखे । विपत्तिको सामना गर्न आफ्नो पार्टीका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि उनले जनाए ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद् व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउने काम भइरहेको जानकारी दिए । उनले विश्व बैंकसँगको समन्वयबाट करिब २५ अर्ब रुपैयाँ बराबरको आर्थिक सहायता जुटाइएको तथा चीन, भारत, जापान र एसियाली विकास बैंकबाट समेत सहयोग प्राप्त गर्ने प्रयास भइरहेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही, लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्त ठाकुर तथा श्रम संस्कृति पार्टीका नेता ध्रुव राईलगायतले विपत्तिको समयमा सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको बताएका थिए । राईले आफ्ना साथीहरू प्रभावित क्षेत्रमा उद्धारमा खटिएको जानकारी गराए ।

बैठकमा सरकारी खातामा उत्साहजनक रूपमा रकम संकलन भइरहेको विषयमा प्रशंसा भए पनि गृहमन्त्री सुधन गुरुङसँग आबद्ध संस्थाले छुट्टै रकम उठाएको विषयमा सहभागी केही नेताले प्रश्न उठाएका थिए । त्यसक्रममा लामिछानेले सहयोग सरकारी खातामै जम्मा गर्नुपर्ने धारणा राख्दै व्यक्तिगत खातामा रकम संकलन गरिएको विषयमा गुनासो आएको र त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।

लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्थाबारे जानकारी लिन नुवाकोटलगायतका क्षेत्रमा गएको जानकारी पनि बैठकलाई गराए । उनले विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अब थप क्षति रोक्न र भविष्यमा यस्ता घटनाको दीर्घकालीन समाधान खोज्न सबै राजनीतिक शक्ति मिलेर काम गर्नुपर्ने बताए ।

उनले उद्धारका लागि सक्दो प्रयास गरिएको भए पनि प्रतिकूल अवस्थाका कारण कतिपय स्थानमा हेलिकप्टरसमेत अवतरण गर्न नसक्दा ठूलो क्षति भएको बताए । क्षतिको यकिन विवरण सम्बन्धित निकायले संकलन गरिरहेको जानकारी दिँदै उनले मित्रराष्ट्रहरूसँग दीर्घकालीन समाधानका लागि आवश्यक पहल अघि बढाउने बताए ।

लामिछानेले विपत्तिको समयमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर राहत, उद्धार र पुनर्स्थापनामा केन्द्रित हुनुपर्ने बताए । उनले आवश्यक परे राहत, उद्धारदेखि पुनर्स्थापनासम्मको कामका लागि सर्वदलीय, संसदीय वा सर्वपक्षीय समिति गठन गर्न सकिने प्रस्तावसमेत राखे ।

उनका अनुसार बाढीबाट भएको सम्पूर्ण क्षतिको विवरण आएपछि केही दिनभित्र पुनः सर्वदलीय बैठक बस्न सक्ने सम्भावना छ । आवश्यक परे प्रधानमन्त्रीसहितको बैठकमार्फत आगामी रणनीति तय गर्न सकिने उनले बताए ।

तिब्बततर्फबाट हिमपहिरो फुटेर भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ८२६ जना नागरिक, प्रहरी तथा पर्यटक सम्पर्कविहीन छन् भने १७७ वटा शव फेला परिसकेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ११, बिहीबार ०८:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP