मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तिब्बतमा आएको भूकम्पपछि हिमपहिरो झरेर रसुवामा बाढी आएको हुनसक्ने: परराष्ट्रमन्त्री खनाल

247
SHARES
तिब्बतमा आएको भूकम्पपछि हिमपहिरो झरेर रसुवामा बाढी आएको हुनसक्ने: परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनको तिब्बती क्षेत्रमा आएको भूकम्पपछि हिमपहिरो झरेर त्यसबाट उत्पन्न बाढी रसुवातर्फ आएको हुनसक्ने प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सरकारका तर्फबाट घटनाबारे जानकारी दिँदै मन्त्री खनालले भूकम्प र त्यसपछि गएको हिमपहिरोका कारण बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना प्राप्त भएको बताए । यद्यपि, घटनाको वास्तविक कारणबारे थप पुष्टि र अध्ययन आवश्यक रहेको उनको भनाइ छ ।

उनका अनुसार बिहान ८ बजेर ३७ मिनेटमा उक्त क्षेत्रमा भूकम्प गएको सूचना प्राप्त भएको थियो । त्यसको केही समयपछि हिमपहिरो झरेको र त्यसकै कारण बाढी आएको हुनसक्ने जानकारी आएको उनले संसदलाई बताए ।

‘प्रारम्भिक सूचना अनुसार ८ बजेर ३७ मिनेटमा त्यो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिमपहिरो झरेको र त्यसका कारण बाढी आएको प्रारम्भिक सूचना आएको छ,’ मन्त्री खनालले भने, ‘त्यसलाई थप भेरिफाइ गर्नुपर्ने आवश्यकता देखिन्छ ।’

बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेसी तथा नुवाकोटको त्रिशूली, बेत्रावती र बट्टारलगायतका क्षेत्रमा क्षति पुगेको सरकारले जनाएको छ । नदीको बहाव अचानक बढेपछि नदी आसपासका बस्ती तथा भौतिक संरचनामा समेत क्षति पुगेको बताइएको छ ।

मन्त्री खनालले घटनामा परी केही नेपालीले ज्यान गुमाइसकेको सूचना सरकारलाई प्राप्त भएको पनि जानकारी दिए । यद्यपि, मृतक तथा बेपत्ताको यकिन विवरण संकलनको क्रममा रहेको उनले बताए ।

उनका अनुसार बिहान करिब ८ बजेर ४० मिनेटमा बाढी आएको थियो । बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य अघि बढाइएको र क्षतिको विस्तृत विवरण संकलन भइरहेको सरकारले जनाएको छ ।

सरकारले प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा स्थानीय संयन्त्रलाई परिचालन गरी उद्धार, राहत र क्षतिको विवरण संकलनलाई प्राथमिकतामा राखेको छ । घटनाको कारण र क्षतिको अवस्थाबारे थप विवरण प्राप्त भएपछि मात्र यकिन जानकारी सार्वजनिक गर्न सकिने मन्त्री खनालले बताएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १०, बुधबार १०:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP