मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भोटेकोशीमा आएको बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम, मुग्लिनसम्म सतर्कता

546
SHARES
भोटेकोशीमा आएको बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम, मुग्लिनसम्म सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीका कारण त्रिशूली नदीको तटीय क्षेत्रमा जोखिम बढेको छ । बाढीका कारण नदीको बहाव तीव्र बनेपछि रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी किनारमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय रसुवाले भोटेकोशीमा पानीको सतह उच्च रहेको जनाउँदै नदी आसपासका बस्तीमा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । प्रशासनका अनुसार बाढीले नुवाकोटको विदुर नगरपालिकाअन्तर्गत त्रिशूली बजार क्षेत्रका केही पुल तथा त्रिशूली र ढुंगे बजार आसपासका घर तथा बस्तीमा समेत क्षति पुर्‍याएको सूचना प्राप्त भएको छ ।

नेपाल प्रहरीले पनि तिब्बततर्फबाट भोटेकोशीमा ठूलो बाढी प्रवेश गरेको जानकारी दिँदै त्रिशूली नदी आसपासका जिल्लामा अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

गृह मन्त्रालयको आपत्कालीन सूचनाअनुसार भोटेकोशीदेखि त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म उच्च जोखिममा रहेको छ । नदी किनारमा रहेका परिवारलाई सुरक्षित स्थानमा बस्न तथा जोखिमयुक्त क्षेत्रमा नजान भनिएको छ ।

सडकमा आवतजावत नगर्न आग्रह
बाढीको जोखिमलाई ध्यानमा राख्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडकखण्ड तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत रोक्नसमेत अनुरोध गरिएको छ ।

खोज तथा उद्धार वा अन्य सहायता आवश्यक परे तत्काल टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्न भनिएको छ ।

यसैबीच, रसुवाबाट आएको आकस्मिक बाढीका कारण त्रिशूली नदीको बहाव थप बढ्न सक्ने भन्दै धादिङ प्रशासनले नदी आसपासका बासिन्दा तथा नदीमा काम गर्ने व्यक्तिलाई सचेत गराएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा त्रिशूली नदीमा आकस्मिक बाढी आएको जानकारी प्राप्त भएकाले बहाव थप बढ्न सक्ने र त्यसबाट विपद्को जोखिम उत्पन्न हुन सक्ने उल्लेख गरिएको छ ।

नदीमा माछा मार्ने, बालुवा–गिट्टी संकलन गर्ने वा अन्य कामका लागि पुगेका व्यक्ति तथा मजदुरलाई तत्काल नदीमा नजान र नदीमा रहेको भए सुरक्षित स्थानमा फर्कन प्रशासनले आग्रह गरेको छ । नदी आसपासका बस्ती, निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजना र नदी तटीय क्षेत्रमा रहेका कार्यालयलाई समेत आवश्यक पूर्वतयारी गर्न भनिएको छ ।

टिमुरेमा बाढीको ठूलो क्षति
भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्‍याएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । बाढीसँगै आएको लेदो र पहिरोले प्रहरी चौकी, भन्सार कार्यालय, होटल, पसल तथा सवारीसाधन बगाएको उनीहरूको भनाइ छ ।

प्रत्यक्षदर्शीका अनुसार बजार क्षेत्रमा समेत बाढी पसेर अहिले खोला बगिरहेको अवस्था छ । बाढीको पानी केही घटे पनि नदीको बहाव र तटीय क्षेत्रमा जोखिम भने कायमै रहेको प्रशासनले जनाएको छ ।

प्रशासनले विपद्जन्य घटना भए तत्काल जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र, स्थानीय जनप्रतिनिधि वा नजिकको सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरेको छ । आपत्कालीन अवस्थामा नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४ तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

नदीको बहावमा अचानक परिवर्तन आउन सक्ने भएकाले प्रशासन तथा सुरक्षा निकायले नागरिकलाई नदी किनारबाट टाढा रही सुरक्षित स्थानमा बस्न र आधिकारिक सूचना मात्र पालना गर्न आग्रह गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १०, बुधबार ०४:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP