मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

व्यक्तिगत सोचले मात्र खेलकुद चल्दैनः आचार्य

5.2K
SHARES
व्यक्तिगत सोचले मात्र खेलकुद चल्दैनः आचार्य

ध्रुव आचार्य, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष । प्रष्ट सोच र आफ्ना अडानमा प्रतिबद्ध भएकै कारण बेतिथिमा चलेको नेपाली खेलकुदमा सुधार हुने कुरामा आचार्यको सकारात्मक भूमिका रहन्छ भन्ने धेरेको आशा छ । तीनै आचार्यसँग गरिएको कुराकानीको सार संक्षेपः

अहिले फरक दलको मन्त्री र कार्यकारी सदस्य सचिवको रूपमा रहेको समयमा तपाई उपाध्यक्ष हुनु हुन्छ । यस बिचमा अध्यक्षको रूपमा युवा तथा खेलकुद मन्त्रीबाट भएका धेरै निर्णय विवादमा पनि आए । यस्ता निर्णयहरू सरसल्लाहमा भएका हुन् या मन्त्रीको एकल सोचमा भएका हुन् ?

कतिपय निर्णयहरू सल्लाहमा भएका छन् । बैठकबाट पनि निर्णय भएका छन् । कार्यकारी अधिकार भएका कारण कानुन अनुसार मिल्ने कतिपय निर्णयहरू सदस्य सचिवले आफ्नै विवेकले पनि गर्नु भएको छ । समग्रमा अहिलेको अवस्थामा मन्त्री ज्यूले गर्न खोजेको धेरै काम कारबाही संस्थागत भन्दा पनि व्यक्ति हाबी भएको प्रस्ट देखिएको छ । परिषद् अहिले धेरै कुरामा व्यक्तिवादी ढङ्गले चलेको हामीले पनि महसुस गरेका छौ । यसलाई हामीले ढकढक्याएका छौ ।

अहिले युवा तथा खेलकुद मन्त्रीले संसद्मा दर्ता गरेको खेलकुद ऐन विवादमा छ । यो परिषद्को सामूहिक सल्लाहमा तयार भएको हो या मन्त्रीले व्यक्तिगत रूपमा दर्ता गर्नु भएको हो ?

मन्त्री ज्युलाई मैले र धेरै बोर्ड सदस्यले पनि ऐन संसाधन विषयमा सल्लाह गरौँ । सबैको सल्लाहमा ड्राफ्ट गरौला भनेका हौ । ऐन संशोधन र तपाइबाट संशोधित ड्राफ्टमा हामी सबैले सर सल्लाह र सुझाव दिउला भनेका थियौ । हामीले उहाँलाई परिषद्मा छलफलको विषय बनाउनु होस पनि भनेका हौ ।

यो कसैको निजी कुरा होइन । समग्र खेलकर्मीको विषय हो । खेल प्रेमीहरूको चासोको विषय हो । त्यसैले तपाइ एक्लै अघि नबढ्नु होस भनेका थियौ । समय सापेक्ष ऐनमा परिवर्तनको आवश्यकता थियो । यसका लागि विज्ञहरूको सल्लाह र बोर्डमा छलफल गरेर अघि बढ्नु पर्थ्यो । तर, उहाँले त्यसो गर्नु भएन । उहाँ एक्लै अघि बढ्नु भयो । यसमा हामीसँग सरसल्लाह छैन । उहाँको व्यक्तिगत सोच हो ।

हामीले अर्को संशोधनका लागि सम्बन्धित निकायसँग कुरा राखी सकेका छौ । त्यो आवश्यक पनि छ ।

सङ्घहरूको विवादको विषयमा, राष्ट्रिय खेलकुद आयोजना हुन नसक्नु तथा योग्यता भन्दा बढी आफ्ना निकटलाई प्राथमिकता दिने मन्त्री चौधरीको नियतका कारण परिषद् धेरै विवादमा परेको छ । यस्ता धेरै विवादास्पद काम मन्त्रीकै एकल निर्णयका कारण भएको भनिन्छ नि ।

सङ्घहरूमा हामी आउनु भन्दा पहिले नै विवाद थियो । तर , यसको जिम्मेवारी परिषद्ले लिनु पर्छ । सङ्घलाई एकताका साथ राख्ने, अभिभावकत्व ग्रहण गर्नु पर्ने तथा नियमन गर्ने काम परिषद्को हो ।

यी विषयमा परिषद् चुकेको छ । तर धेरै पहिले देखि नै चुकेको हो । यसले हामीलाई नकारात्मक असर पारेको छ । राष्ट्रिय खेलकुदको हकमा हामीले गरेका निर्णय कार्यान्वयन हुन नसक्नु दुखद हो । संस्थागत भन्दा व्यक्तिवादी सोचका आधारमा अभियान नै चल्यो र यसको परिणाम अहिलेको समस्या हो । यसमा बोर्ड सदस्य साथीहरू पनि छलफल गरेर जानु पर्छ भन्नु हुन्छ । यो विवाद हटेर जानु पर्छ भन्ने सबैको मत हो । मन्त्री ज्यू छलफलमा एउटा कुरा गर्नु हुन्छ, काम अर्को गर्नु हुन्छ । यस किसिमको वातावरण अबको दिनमा नहोस् भन्न चाहन्छु ।

बजेट पनि परिषद्बाट छलफल हुनु पर्थ्यो । त्यसो भएन । १० ओ राष्ट्रिय खेलकुदको विषयमा पनि प्राविधिक प्रशासनिक दक्ष व्यक्तिहरूसँग समन्वय गर्नु पर्थ्यो , यसो गर्नु भएन । यी सबैको परिणाम खेलकुदले भोगेको छ ।

अहिले परिषद्को बोर्डलाई ओलम्पिक कमिटी विवादमा पनि जिम्मेवार भनिन्छ नि ।

म आउनु भन्दा अघि नै ओलम्पिक कमिटी विवादमा फसेको अवस्था हो । सुरुमा नै एक किसिमको समस्या थियो । यसमा सङ्घ र ओलम्पिक बिचमा विवाद थिए । मताधिकार लगायत विषयमा पनि विवाद थिए । ओलम्पिकलाई अलिकति दिन पर्ने सर सल्लाह र परामर्श हुनु मन्त्रालयबाट छलफलमा बसेको भए समाधान हुन सक्थ्यो ।

ओलम्पिक कमिटीमा विकृति र विसङ्गतिको विषयमा निराकरण गरेर गर्नु पर्छ भन्ने विषय पहिले देखि जै थियो । तर, त्यसमा सल्लाहबाट नै समाधान खोजिनु पर्थ्यो ।

अहिले नेपाली खेलकुदमा शक्तिको दुरुपयोगको प्रचलन बढेको छ— मन्त्री, ओलम्पिक कमिटी अध्यक्ष , सदस्य सचिव र कर्मचारी तन्त्रका जिम्मेवार व्यक्तिसम्म, यसले कहाँ लैजान्छ होला ?

कानुनी हिसाबले चुस्त र दुरुस्त रूपमा चल्नै पर्छ । विगतमा के कति कमी कमजोरी सबैबाट भयो होला । आगामी दिनमा परिष्कृत रूपमा ऐनको मर्म अनुरूप चल्नुको विकल्प छैन । विगतमा भएका कुराहरूलाई औँल्याएर जानु पर्ने विषयमा हामी सबै सहमत हुनै पर्छ ।

राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी पदमा सदस्य सचिव सत्ता बाहिरको दलबाट राजनीतिक नियुक्ति पाएको व्यक्ति हुनुहुन्छ । तपाइको बिचारमा उहाँलाई पद मुक्त गर्दा ठिक हुन्छ या अब बाँकी रहेका थोरै कार्यकाल काम गर्न दिँदा ?

सदस्य सचिवको मतमा । सदस्य सचिवको विषयमा अबका केही महिनाका लागि अन्तर विरोध सृजना गर्ने भन्दा पनि विवाद रहित रूपले चल्दा ठिक होला । उहाँले पनि सत्तारुढ दलबाट प्रतिनिधीत्व गर्ने सबैलाई साथमा लिई, कर्मचारी र प्रशासन संयन्त्रलाई राम्रो सँग समन्वय गर्दै अगाडी बढ्दा विवाद निम्त्याउन पर्ने कुनै कारण म देख्दिन । यो त्यत्ति समस्याको विषय हो जस्तो मलाई लाग्दैन ।

अन्त्यमा अहिले संसद्मा दर्ता भएको ऐन संशोधन के गर्दा ठिक होला ?

समय सापेक्ष रूपले सबै खेलकर्मी र विज्ञहरूको सल्लाहमा बोर्डमा बृहत् छलफल गरेर अर्को संशोधन उपयुक्त हो । हामी यसको अभ्यासमा छौ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १९, बिहीबार ०९:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP