मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विश्वकपमा फ्रान्सको विजयी सुरुआत, एमबाप्पे बने फ्रान्सका सर्वाधिक गोलकर्ता

403
SHARES
विश्वकपमा फ्रान्सको विजयी सुरुआत, एमबाप्पे बने फ्रान्सका सर्वाधिक गोलकर्ता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को उद्घाटन खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोलले पराजित गर्दै विजयी सुरुआत गरेको छ । अमेरिकाको न्यु जर्सीमा भएको खेलमा कप्तान किलियन एमबाप्पे चम्किँदा फ्रान्सले महत्त्वपूर्ण तीन अंक हात पारेको हो ।

खेलको दोस्रो हाफमा दुई गोल गरेका एमबाप्पेले फ्रान्सका लागि इतिहास रचे । उनले पहिलो गोल गर्दै फ्रान्सका पूर्व स्ट्राइकर ओलिभिए जिरुडको ५७ गोलको कीर्तिमान बराबरी गरेका थिए भने इन्जुरी समयमा करिब ३० यार्ड टाढाबाट गरेको शानदार गोलसँगै राष्ट्रिय टोलीका लागि ५८ गोल पुर्‍याउँदै फ्रान्सका सर्वाधिक गोलकर्ता बने ।

यससँगै एमबाप्पेको विश्वकप गोल संख्या १४ पुगेको छ । उनले जर्मनीका महान् स्ट्राइकर गर्ड मुलरको कीर्तिमान बराबरी गरेका छन् । विश्वकप इतिहासमा उनीभन्दा अगाडि ब्राजिलका रोनाल्डो (१५ गोल) र जर्मनीका मिरोस्लाभ क्लोजे (१६ गोल) मात्र रहेका छन् ।

खेलको ६५औँ मिनेटमा माइकल ओलिसेको उत्कृष्ट पासमा एमबाप्पेले पहिलो पटक गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यसपछि ब्राड्ली बार्कोलाले सुन्दर चिप गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।

सेनेगलका लागि खेलको अन्त्यतिर विकल्प खेलाडी इब्राहिम म्बायेले एक गोल फर्काउँदै खेलमा फर्कने संकेत दिएका थिए । तर त्यसको दुई मिनेटपछि नै एमबाप्पेले लामो दूरीबाट शानदार प्रहार गर्दै फ्रान्सको जित सुनिश्चित गरे ।

पहिलो हाफमा भने फ्रान्सले निराशाजनक प्रदर्शन गरेको थियो । प्रशिक्षक डिडियर डेसचाम्प्सले एमबाप्पे, ओलिसे, उस्माने डेम्बेले र डेजिरे डुएलाई समेटेर आक्रामक टोली उतारे पनि फ्रान्सले केवल एक प्रहार मात्र गोलतर्फ गर्न सकेको थियो ।

सेनेगलले पहिलो हाफमा केही उत्कृष्ट अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन । विशेषगरी इस्माइला सारले नजिकको दूरीबाट गरेको प्रहार गोलपोस्टमाथिबाट बाहिरिएको थियो ।

ऐतिहासिक कीर्तिमान कायम गरेपछि एमबाप्पेले भने, “म आफ्नो देशको इतिहासमा अमिट छाप छोड्न चाहन्छु । मेरो लक्ष्य फ्रान्सलाई फाइनलसम्म पुर्‍याएर विश्वकप जिताउनु हो । बाँकी उपलब्धि मेरो करियरको हिस्सा मात्र हुनेछ ।”

जितपछि उनले थपे, “विश्वकपमा कुनै पनि खेल सजिलो हुँदैन । आज पनि सहज थिएन, तर हामी जुनसुकै बेला गोल गर्न सक्षम छौं । अब हाम्रो ध्यान इराकविरुद्धको खेलमा केन्द्रित हुनेछ ।”



अगुल्टो अगुल्टो   
  • २०८३ असार ३, बुधबार ००:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP