मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

इरानी ड्रोन हमलापछि कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल बन्द, सबै उडान रोकिए

169
SHARES
इरानी ड्रोन हमलापछि कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल बन्द, सबै उडान रोकिए

काठमाडौं । कुवेतले आफ्नो एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भएको इरानी ड्रोन आक्रमणपछि सबै उडान सेवा अनिश्चितकालका लागि स्थगित गरेको छ । आक्रमणका कारण विमानस्थलको मुख्य संरचनामा क्षति पुगेको र केही व्यक्ति घाइते भएको कुवेती अधिकारीहरूले बताएका छन् ।

अमेरिकाले इरानका विभिन्न सैन्य लक्ष्यमा कारबाही गरेपछि त्यसको प्रत्युत्तरस्वरूप इरानले कुवेतमा आक्रमण गरेको बताइएको छ । कुवेती विदेश मन्त्रालयका अनुसार विमानस्थल बाहेक अन्य स्थानहरूमा पनि आक्रमण भएको छ, जसमा एक जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।

यसैबीच, अमेरिकी सेनाले इरानबाट प्रहार गरिएका मिसाइल तथा ड्रोनहरू अवरोध गरी नष्ट गरेको जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार हर्मुज जलडमरूमध्य नजिकका केही रणनीतिक लक्ष्यमा पनि ‘आत्मरक्षात्मक’ कारबाही गरिएको छ ।

सेन्टकमले पर्सियन खाडी क्षेत्रमा इरानी बन्दरगाहतर्फ जाँदै गरेको खाली तेलवाहक जहाजलाई पनि निष्क्रिय बनाइएको दाबी गरेको छ । त्यसको प्रतिक्रिया जनाउँदै इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकाले इरानमाथि आक्रमण गरेकाले आफूहरूले जवाफी कदम चालेको जनाएको छ ।

कुवेतमा अमेरिकी सेनाका पाँच सैन्य अड्डा रहेका छन् । पछिल्ला दिनहरूमा अमेरिका र इरानबीच लगातार सैन्य तनाव बढिरहेको छ । अमेरिकाले दक्षिणी इरानका राडार तथा कमाण्ड सेन्टरहरूलाई लक्षित गर्दै हवाई आक्रमण गरेको थियो भने इरानले ती कारबाहीका लागि प्रयोग भएका अमेरिकी सैन्य संरचनालाई निशाना बनाएको दाबी गरेको छ ।

अमेरिकी समाचार संस्था एपीका अनुसार इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डातर्फ समेत मिसाइल प्रहार गरेको छ ।

यता, तीन महिनादेखि जारी अमेरिका–इरान द्वन्द्व अन्त्य गर्ने प्रयासस्वरूप कूटनीतिक वार्ता जारी छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित सम्झौताका केही बुँदामा संशोधन गर्न वार्ता टोलीलाई निर्देशन दिएको बताइएको छ ।

अमेरिकी सञ्चारमाध्यम एक्सियसका अनुसार ट्रम्पले इरानको आणविक कार्यक्रम, उच्च प्रशोधित युरेनियमको व्यवस्थापन तथा हर्मुज जलडमरूमध्यमा जहाज आवागमनको सुरक्षाबारे थप स्पष्ट प्रतिबद्धता चाहेका छन् । प्रस्तावित सम्झौतामा इरानले भविष्यमा आणविक हतियार नबनाउने, करिब ४०० किलो उच्च प्रशोधित युरेनियम हस्तान्तरण गर्ने तथा हर्मुज क्षेत्रमा निर्बाध जल यातायात सुनिश्चित गर्ने विषयलाई थप स्पष्ट बनाउने प्रयास भइरहेको बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २०, बुधबार १२:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP