मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विश्वकपअघि फिफाको नयाँ नियम: पहेँलो कार्ड ‘रिसेट’ हुने, स्टार खेलाडीलाई राहत

130
SHARES
विश्वकपअघि फिफाको नयाँ नियम: पहेँलो कार्ड ‘रिसेट’ हुने, स्टार खेलाडीलाई राहत

काठमाडौं । विश्वकप २०२६ मा फुटबलको सर्वोच्च निकाय फिफाले पहेँलो कार्डसम्बन्धी नियममा महत्वपूर्ण परिवर्तन गर्ने तयारी गरेको छ । यसले खेलाडीहरूलाई साना गल्तीका कारण निर्णायक खेल गुमाउनुपर्ने अवस्थाबाट जोगाउने अपेक्षा गरिएको छ ।

हालसम्मको नियमअनुसार समूह चरण र त्यसपछिका खेलमा छुट्टाछुट्टै समयमा पहेँलो कार्ड पाए पनि त्यसको असर जारी रहन्थ्यो । उदाहरणका लागि, समूह चरणमा एक र क्वार्टरफाइनलमा अर्को पहेँलो कार्ड पाएमा खेलाडीले सेमिफाइनल गुमाउनुपर्ने अवस्था आउँथ्यो ।

तर नयाँ प्रस्तावअनुसार अब दुई चरणमा पहेँलो कार्ड ‘रिसेट’ गरिनेछ । पहिलो, समूह चरण सकिएपछि सबै खेलाडीका कार्डहरू शून्य गरिनेछन् । दोस्रो, क्वार्टरफाइनलपछि फेरि कार्डहरू मेटाइनेछन् । यसले सेमिफाइनल र फाइनल जस्ता निर्णायक खेलमा उत्कृष्ट खेलाडीहरू उपलब्ध हुने सम्भावना बढाउनेछ ।

यसपटक विश्वकपमा ३२ को सट्टा ४८ टोली सहभागी हुने भएकाले खेलहरूको संख्या पनि बढेको छ । टोलीहरूले सेमिफाइनल पुग्न पहिलेभन्दा धेरै खेल खेल्नुपर्ने हुँदा पहेँलो कार्डको जोखिम पनि बढ्ने देखिएको छ । यही कारण फिफाले नियम परिमार्जन गर्न लागेको हो ।

यद्यपि, एउटै चरणभित्र दुईवटा पहेँलो कार्ड पाएमा एक खेलको प्रतिबन्ध लाग्ने नियम भने यथावत रहनेछ । उदाहरणका लागि, समूह चरणकै दुई खेलमा पहेँलो कार्ड पाएमा त्यसपछि अर्को खेल गुमाउनुपर्नेछ । तर यदि समूह चरणमा एक मात्रै कार्ड खाएको छ भने त्यो चरण समाप्तिसँगै मेटिनेछ ।

नकआउट चरण (राउन्ड अफ ३२, १६ र क्वार्टरफाइनल) मा पनि यही व्यवस्था लागू हुनेछ । उक्त चरणभित्र दुईवटा कार्ड पाएपछि मात्रै प्रतिबन्ध लाग्नेछ ।

फिफाले यस्तो नियम ल्याउनुको मुख्य उद्देश्य साना त्रुटिका कारण विश्वकपका महत्वपूर्ण खेलहरूमा शीर्ष खेलाडी अनुपस्थित हुने अवस्थालाई कम गर्नु हो । यसले प्रतियोगितालाई अझ निष्पक्ष र प्रतिस्पर्धात्मक बनाउने विश्वास गरिएको छ ।

यो प्रस्तावबारे फिफा काउन्सिलको बैठकमा क्यानडाको भ्यानकुवरमा औपचारिक छलफल गरी निर्णय लिने तयारी गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख १५, मंगलवार ०८:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP