मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभामा दुई समिति गठन, तीन अध्यादेश सर्वसम्मत स्वीकृत

793
SHARES
प्रतिनिधिसभामा दुई समिति गठन, तीन अध्यादेश सर्वसम्मत स्वीकृत

काठमाडौं । सोमबार सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बसेको प्रतिनिधिसभा बैठकले सभा सञ्चालनलाई व्यवस्थित बनाउन दुई महत्वपूर्ण समिति गठन गरेको छ । बैठकले कार्यसूची तय गर्ने तथा सभा सञ्चालनका विषयमा सुझाव दिने २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको हो ।

सभामुख डोलप्रसाद अर्यालले उक्त समिति आफ्नो अध्यक्षतामा रहने जानकारी दिँदै सदस्यहरूको नामावली सभामा पढेर सुनाएका थिए । समितिमा अचुतम लामिछाने, अप्साना बानु, आरएन राई, केपी खनाल, कामिनी चौधरी, क्रान्तिशिखा धिताल, खुश्बु ओली, गणेशसिंह ठगुन्ना, गुरुप्रसाद बराल, गंगालक्ष्मी अवाल, तपेश्वर यादव, देवराज पाठक, नरेन्द्रकुमार केरुङ, प्रकाशचन्द्र परियार, निशा डाँगी, बोधनारायण श्रेष्ठ, मिनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा. राम लामा र विपिनकुमार आचार्य रहेका छन् ।

त्यसैगरी बैठकले प्रतिनिधिसभा सञ्चालन नियमावलीको मस्यौदा तयार गर्न १५ सदस्यीय मस्यौदा समिति पनि सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको सभापतित्वमा बनेको समितिको प्रस्ताव सांसद कवीन्द्र बुर्लाकोटीले पेश गरेका थिए । प्रस्तावलाई प्रतिनिधिसभामा रहेका सबै दलका सांसदहरूले समर्थन गरेपछि समिति सर्वसम्मत रूपमा गठन भएको हो ।

पराजुली नेतृत्वको समितिमा डा. ओजश्वी शेरचन, ऐन महर, खुश्बु ओली, खगेन्द्र सुनार, गजलासमिम मिश्रानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, वलावती शर्मा, मधु चौलागाई, रेखाकुमारी यादव, यज्ञमणि न्यौपाने र सुलभ खरेल सदस्य छन् । समितिले सभामुखको निर्देशनमा कार्यविधि तयार गर्नेछ र आवश्यकता अनुसार विज्ञको सहयोग लिन सक्नेछ । समितिको कार्यअवधि १४ दिन तोकिएको छ ।

बैठकले गृहमन्त्री सुधन गुरुङले पेश गरेका ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ लाई पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । सभामुखले मत विभाजनका क्रममा ‘हुन्छ’ र ‘हुन्न’ भनी निर्णय गराउँदा विरोधमा कुनै मत नपरेको जनाइएको छ ।

यसैबीच, बैठकले पूर्वसांसद रामचन्द्र भट्टराईको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २३, सोमबार १०:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP