मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नाबालिकामाथि दुर्व्यवहार आरोपमा सांसद रेखा शर्मा पक्राउ

2.1K
SHARES
नाबालिकामाथि दुर्व्यवहार आरोपमा सांसद रेखा शर्मा पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट लुम्बिनी प्रदेश सभा सदस्य रहेकी रेखाकुमारी शर्मालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सोमबार राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धुम्बाराहीस्थित निवासबाट नियन्त्रणमा लिएको हो ।

शर्मामाथि दाङकी एक नाबालिकालाई घरेलु कामदारका रूपमा राखी शारीरिक तथा मानसिक हिंसा गरेको आरोप लाग्दै आएको थियो । उनी एमाले महासचिव शंकर पोखरेल निकट मानिन्छिन् ।

२०८१ जेठ १४ मा काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित शर्माको घरबाट ती नाबालिकाको उद्धार गरेको थियो । उद्धारपछि कुटपिट, बाहिर निस्कन नदिएको, उचित बसोबास नदिएको र मानसिक यातना दिएको आरोप सार्वजनिक भएको थियो । यस विषयमा त्यसबेलाका मेयर तथा हालका प्रधानमन्त्री बालेन शाहले पनि चासो व्यक्त गरेका थिए ।

घटनापछि २०८१ जेठ ३० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गरिएको थियो । महानगरपालिकाले बालबालिकासम्बन्धी ऐन २०७५ अन्तर्गत बालबालिकाविरुद्ध हिंसाको कसुर भएको दाबी गरेको थियो, जसमा दोषी ठहर भए ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय हुन सक्ने प्रावधान छ ।

प्रारम्भिक उजुरीपछि पनि लामो समयसम्म पक्राउ नपरेको भन्दै बालेन शाहले सार्वजनिक रूपमा असन्तुष्टि जनाएका थिए । पछि २०८१ माघमा शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय भए पनि उनले त्यसबेला सामाजिक सञ्जालमार्फत माफी माग्दै भविष्यमा सत्य बाहिर आउने संकेत गरेका थिए ।

यो प्रकरण सर्वोच्च अदालतसम्म पुगेको थियो । बालिकाका बुबाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेपछि अदालतमा सुनुवाइ भएको थियो । प्रारम्भिक इजलासमा फरक राय आएपछि मुद्दा पूर्ण इजलासमा पठाइएको थियो ।

पूर्ण इजलासले अन्ततः बालिकालाई अभिभावकसँग पुनर्मिलन गराउने र उनको इच्छाअनुसार काठमाडौंमै राख्ने आदेश दिएको थियो । साथै, बालिका बालिग नहुँदासम्म शिक्षा र हेरचाहको जिम्मा काठमाडौं महानगरपालिकालाई दिने परमादेश जारी गरिएको थियो ।

हाल पुरानो मुद्दा पुनः सक्रिय भएसँगै सांसद शर्मा पक्राउ परेकी हुन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १६, सोमबार ०१:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP