मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ओखलढुङ्गामा ५ मतको जित, तर समानुपातिकमा फरक अंक—मतदाताको रोजाइ फरक देखियो

858
SHARES
ओखलढुङ्गामा ५ मतको जित, तर समानुपातिकमा फरक अंक—मतदाताको रोजाइ फरक देखियो

काठमाडौं । गत बिहीबार अर्थात् फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ओखलढुङ्गा निर्वाचन क्षेत्रको मतपरिणाम यस पटक विशेष चासोको विषय बनेको छ । प्रत्यक्षतर्फ अत्यन्त झिनो मतान्तरले हार–जित तय भएपछि जिल्लाको चुनावी नतिजा धेरैको ध्यानाकर्षण गर्न सफल भएको हो ।

अन्तिम परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विश्वराज पोखरेल नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई मात्र ५ मतले पछि पार्दै निर्वाचित भएका हुन् । पोखरेलले १३ हजार ९५३ मत प्राप्त गर्दा लुइँटेलले १३ हजार ९४८ मत पाएका थिए । अत्यन्त सानो मतान्तरका कारण यो परिणाम देशभर चर्चाको विषय बन्न पुग्यो ।

तर प्रत्यक्षतर्फको यस्तो कडा प्रतिस्पर्धाबीच समानुपातिकतर्फको मतपरिणाम हेर्दा भने फरक तस्वीर देखिएको छ । प्रत्यक्षतर्फ पोखरेलले पाएको मतभन्दा रास्वपाले समानुपातिकतर्फ बढी मत प्राप्त गरेको देखिन्छ । जिल्लामा रास्वपाको घण्टी चुनाव चिह्नमा १७ हजार ६३९ मत खसेको छ, जुन पोखरेलले पाएको मतभन्दा ३ हजार ६८६ मत बढी हो । यसले केही मतदाताले पार्टीलाई मत दिए पनि उम्मेदवारलाई मत नदिएको संकेत गर्छ ।

यता नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलको हकमा भने उल्टो अवस्था देखिएको छ । उनले प्रत्यक्षतर्फ १३ हजार ९४८ मत पाउँदा जिल्लामा कांग्रेसको समानुपातिक मत १२ हजार ८९१ मात्र रहेको छ । यस हिसाबले लुइँटेलले पाएको मतभन्दा कांग्रेसको समानुपातिक मत १ हजार ५७ कम देखिन्छ, जसले उम्मेदवारको व्यक्तिगत प्रभाव बलियो रहेको देखाउँछ ।

त्यस्तै नेकपा एमालेकी उम्मेदवार अस्मिता थापाले प्रत्यक्षतर्फ १० हजार ७२० मत पाएकी छन् । तर समानुपातिकतर्फ एमालेले ९ हजार २१० मत मात्र प्राप्त गरेको छ । यसरी उम्मेदवारले पाएको मत पार्टीले पाएको मतभन्दा १ हजार २१० ले बढी रहेको देखिन्छ ।

यस निर्वाचनमा अझ रोचक तथ्य भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार अम्बिरबाबु गुरुङको मतमा देखिएको छ । गुरुङले प्रत्यक्षतर्फ ११ हजार २९६ मत प्राप्त गरेका छन् भने पार्टीको तारा चुनाव चिह्नमा समानुपातिकतर्फ ६ हजार ९६५ मत मात्रै खसेको छ । उम्मेदवार र पार्टीबीचको मतान्तर ४ हजार ३३१ पुगेको छ ।

यी तथ्यांकले ओखलढुङ्गामा मतदाताले पार्टीभन्दा उम्मेदवारलाई आधार मानेर मत दिने प्रवृत्ति पनि देखिएको विश्लेषण गरिएको छ । कतिपय मतदाताले एउटै पार्टीको चुनाव चिह्नमा मत हाल्दा प्रत्यक्षतर्फ भने फरक उम्मेदवार रोजेको सम्भावना पनि देखिन्छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार यस्तो अवस्था मिश्रित निर्वाचन प्रणाली भएको देशमा स्वाभाविक मानिन्छ । प्रत्यक्ष र समानुपातिकतर्फ छुट्टाछुट्टै मत हाल्ने व्यवस्था भएकाले मतदाताले पार्टी र उम्मेदवारलाई फरक–फरक तरिकाले मूल्याङ्कन गर्ने प्रवृत्ति देखिन सक्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २६, मंगलवार ०८:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP