मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वीरगञ्जमा कर्फ्यू हटाइयो, निषेधाज्ञा यथावत्

1.4K
SHARES
वीरगञ्जमा कर्फ्यू हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौं । पर्सा जिल्लाको वीरगञ्जमा दुई पक्षबीचको विवादपछि चर्किएको तनाव साम्य बन्दै गएको निष्कर्ष निकाल्दै स्थानीय प्रशासनले सोमबार साँझदेखि कर्फ्यू हटाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गरेपछि जनजीवन सामान्यतर्फ फर्किएको ठहर गर्दै बन्देज हटाउने निर्णय गरिएको हो ।

यसअघि प्रदर्शन उग्र बन्दै सम्भावित झडपको जोखिम देखिएपछि प्रशासनले नगर क्षेत्रमा पूर्णकालीन कर्फ्यू लागू गरेको थियो । सोमबार बिहान ९ः४५ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मका लागि कर्फ्यू घोषणा गरिएको थियो । तर, सुरक्षा निकायको प्रतिवेदनले अवस्था नियन्त्रणमा रहेको देखाएपछि प्रशासनले खुकुलो नीति अवलम्बन गरेको जनाएको छ ।

यद्यपि, पूर्ण रूपमा जोखिम टरेको निष्कर्ष ननिस्किएकाले निषेधाज्ञा भने कायम राखिएको छ । स्थानीय प्रशासन ऐन, २०२८को दफा ६ (३क) अनुसार साँझ ४ः३० बजेदेखि भोलि बिहान ८ः०० बजेसम्म भेला, सभा, जुलुस तथा प्रदर्शनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनामा उल्लेख छ ।

कर्फ्यू हटाइए पनि वीरगञ्जका संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो राखिएको छ । वीरगञ्जको माइस्थान, घण्टाघर र आदर्शनगर आसपास प्रहरी गस्ती बढाइएको प्रशासनले जनाएको छ । सम्भावित उक्साहट वा सामाजिक सद्भावमा असर पर्ने गतिविधि हुन नदिन विशेष निगरानी जारी राखिएको छ ।

प्रशासनले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना नफैलाउन र धार्मिक तथा सामाजिक सहिष्णुता कायम राख्न नगरबासीलाई आग्रह गरेको छ । समग्र सुरक्षा अवस्थाको निरन्तर मूल्यांकन गर्दै आवश्यक परे थप निर्णय लिइने जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ११, सोमबार १२:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP