मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

टी-२० विश्वकप: नेपालको ऐतिहासिक जित, स्कटल्यान्ड ७ विकेटले पराजित

481
SHARES
टी-२० विश्वकप: नेपालको ऐतिहासिक जित, स्कटल्यान्ड ७ विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० पुरुष विश्वकप अन्तर्गत समूह ‘सी’को आफ्नो अन्तिम खेलमा नेपालले १२ वर्षपछि विश्वकपमा जित दर्ता गर्दै ऐतिहासिक सफलता हात पारेको छ । मंगलबार मुम्बइस्थित वानखडे रंगशालामा भएको खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै विश्वकप यात्रालाई सुखद अन्त्य गरेको हो ।

नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा सम्पन्न विश्वकपमा दुई जित निकालेको थियो । त्यसयता विश्वकपमा जितविहीन रहँदै आएको नेपालका लागि यो जित विशेष महत्वको बनेको छ । यस विश्वकपमा भने नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको झिनो हार बेहोरेको थियो भने इटाली र वेष्ट इण्डिजसँग क्रमशः १० विकेट र ९ विकेटले पराजित भएको थियो ।

१७१ रनको लक्ष्य सहजै पूरा
टस जितेर फिल्डिङ रोजेको नेपालले स्कटल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै स्कटल्यान्डले १७० रन बनायो र नेपालसामु १७१ रनको लक्ष्य प्रस्तुत गर्यो ।

जवाफी ब्याटिङमा नेपालले ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । ओपनर कुशल भुर्तेलले ३५ बलमा ४३ रन बनाउँदै राम्रो सुरुवात दिलाए भने आशिफ शेखले ३३ रनको योगदान गरे । कप्तान रोहित पौडेल १६ रनमा आउट भए ।

चौथो विकेटका लागि दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले अविजित ७३ रनको साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्‍याए । दीपेन्द्रले २३ बलमा ४ चौका र ३ छक्कासहित अर्धशतक पूरा गरे, जुन जारी प्रतियोगितामा उनको लगातार दोस्रो अर्धशतक हो । गुल्सन झाले २४ रनमा अविजित रहँदै उत्कृष्ट साथ दिए ।

स्कटल्यान्डको राम्रो सुरुवात, तर मध्यमक्रम असफल
यसअघि स्कटल्यान्डका ओपनर जर्ज मुन्से र माइकल जोन्सले पहिलो विकेटका लागि ८० रनको साझेदारी गर्दै सशक्त सुरुवात दिलाएका थिए । माइकल जोन्सले ४५ बलमा ७१ रन बनाउँदै अर्धशतक प्रहार गरे ।

तर मध्यक्रम चल्न नसक्दा स्कटल्यान्ड ठूलो योगफल बनाउनबाट रोकियो । कप्तान रिची बेरिङ्टनसहित अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । नन्दन यादवले २ विकेट हात पारे भने कप्तान रोहित पौडेल र कुशल भुर्तेलले समान १–१ विकेट लिए ।

यो जितसँगै नेपालले विश्वकपमा १२ वर्षदेखिको जितको खडेरी तोड्दै समर्थकहरूलाई खुसी बनाएको छ । आगामी संस्करणहरूमा अझ सशक्त प्रदर्शन गर्ने संकेत नेपालले यस खेलमार्फत दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ६, बुधबार ००:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP