मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोनिज काठमाडौं शाखाको २२औं साधारण सभा सम्पन्न

1.7K
SHARES
फोनिज काठमाडौं शाखाको २२औं साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखाले २२औं वार्षिक साधारण सभा शनिबार काठमाडौंमा सम्पन्न गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा शाखाको सांगठनिक अवस्था, आदिवासी जनजाति पत्रकारका मुद्दा तथा भावी कार्यदिशाबारे छलफल गरिएको थियो ।

साधारण सभामा प्रमुख अतिथिका रूपमा उपस्थित फोनिज संघीय अध्यक्ष लक्की चौधरीले आदिवासी जनजाति पत्रकारहरूको माग र मुद्दाप्रति सरकार अझै गम्भीर नदेखिएको टिप्पणी गरे । उनले मातृभाषी पत्रकारहरूप्रति राज्यको दृष्टिकोण विभेदकारी रहेको उल्लेख गर्दै फोनिजले पाउँदै आएको सहयोग पनि ‘टोकन मनी’मै सीमित रहेको बताए ।

अध्यक्ष चौधरीले पत्रकारहरूको पेशागत सुरक्षा, हकहित र पहिचानका विषयमा सरकारको भूमिका कमजोर रहेको उल्लेख गरे । “पत्रकारहरूको पेशा सुरक्षा र हकहितको कुरा त अझै धेरै परको विषय बनेको छ,” उनले भने ।

उनले फोनिज काठमाडौं शाखाले मातृभाषामा लेख्न चाहने तथा लेखिरहेका पत्रकारहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । साथै, उपत्यकामा देशभरिका आदिवासी जनजाति पत्रकारहरूलाई सक्रिय र चलायमान बनाउन शाखाले विशेष भूमिका खेल्नुपर्ने बताए । “हामी काठमाडौं शाखालाई सबैभन्दा सक्रिय र संगठित शाखाको रूपमा हेर्न चाहन्छौं, तर अहिले उपस्थिति निकै पातलो देखियो,” उनले चिन्ता व्यक्त गरे ।

अध्यक्ष चौधरीले नेपाली पत्रकारिताको इतिहास स्मरण गर्दै वि.सं. २००८ सालमा सत्यनारायण बहादुर श्रेष्ठले पत्रकार संघ स्थापना गरे पनि नेपाल पत्रकार महासंघले त्यसलाई मान्यता नदिएको प्रसंग उठाए । “जसले पत्रकारिता र पत्रकार महासंघको जन्म दिए, उसैलाई आज पहिचान मेटाएर साइड लगाउने काम भइरहेको छ,” उनले भने । यस विषयलाई फोनिजले आन्दोलनको एजेण्डाका रूपमा उठाउनुपर्ने धारणा पनि उनले राखे ।

उनले सत्य र न्यायको पक्षमा कलम चलाउने आदिवासी पत्रकारहरूबीच एकता र पहिचान मजबुत बनाउन आदिवासी समुदायका मुद्दामा अझ गहिरो खोजी पत्रकारिता आवश्यक रहेको बताए ।

कार्यक्रममा फोनिज काठमाडौं शाखाकी कोषाध्यक्ष दिपा सुनुवारले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् भने सचिव रत्नकाजी महर्जनले सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।

साधारण सभाको अन्त्यमा फोनिज काठमाडौंका अध्यक्ष भीम लामाले विधानले दिएको अधिकार प्रयोग गर्न संघीय संरचनाका अवरोधका कारण समस्या भइरहेको गुनासो गरे । “हामी काम गर्न चाहँदा पनि विधान र फोनिज केन्द्रको दबाबका कारण अघि बढ्न सकेका छैनौं,” उनले भने । साथै, ती अवरोध फुकुवा गर्न संघीय अध्यक्षसँग तत्काल पहल गरिदिन आग्रह गरे ।

कार्यक्रममा विभिन्न वक्ताहरूले फोनिज काठमाडौं शाखाको आगामी यात्राका लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २४, शनिबार ११:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP