मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन फागुनमा

2.1K
SHARES
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन फागुनमा

काठमान्डु । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनको मिति र स्थान औपचारिक रूपमा सार्वजनिक गरेको छ । संघको स्टेरिङ कमिटीको आइतबार सम्पन्न बैठकले आगामी २०८२ साल फागुन ११, १२ र १३ गते ९सन् २०२६ फेब्रुअरी २३, २४ र २५० काठमान्डुमा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।

तयारीलाई तीव्रता
संघका महासचिवद्वय गौरीराज जोशी र बी.आर. लामाले जारी गरेको विज्ञप्तिअनुसार महाधिवेशनको तयारीलाई तीव्र बनाउन मिति घोषणा गरिएको हो । बैठकले मिति तय गर्नुका साथै सांगठनिक एकता सुदृढ गर्ने र आन्तरिक व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा पनि महत्वपूर्ण निर्णयहरू गरेको छ ।

एनसीसी एकताका लागि विशेष समिति
राष्ट्रिय समन्वय समिति (एनसीसी) हरूबीच देखिएको विभाजन अन्त्य गरी एकता कायम गर्न गंगाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय ‘एनसीसी एकता समिति’ गठन गरिएको छ ।
समितिको सह–संयोजकमा टीका गुरुङ (राधिका) रहेकी छन् भने सदस्यहरूमा शनिकुमार ओली, नारायण काफ्ले र चिरञ्जीवी खड्का रहेका छन् ।

क्षेत्रीय अन्तरक्रिया कार्यक्रम सार्वजनिक
विश्वभर रहेका गैरआवासीय नेपाली समुदायमा बृहत् एकताको सन्देश पुर्‍याउने उद्देश्यले संघले क्षेत्रीय अन्तरक्रिया तथा संवाद कार्यक्रमको तालिका पनि तय गरेको छ । तालिका अनुसार डिसेम्बर १९ मा मध्यपूर्व तथा अफ्रिका, डिसेम्बर २० मा एसिया प्रशान्त तथा ओसिनिया तथा डिसेम्बर २१ मा अमेरिकाज तथा युरोप हुनेछ ।

अनुशासन र जिम्मेवारीमा कडाइ
बैठकले सदस्यता सम्बन्धी समितिको आकार ५ बाट बढाएर ७ सदस्यीय बनाउने निर्णय गरेको छ । साथै, अनुशासन र जिम्मेवारी सुनिश्चित गर्न स्टेरिङ कमिटीका सबै सदस्यहरूले आगामी बैठकअघि प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको छ । तोकिएको समयभित्र हस्ताक्षर नगर्ने सदस्यलाई आगामी बैठकमा सहभागी हुन नदिने निर्णयसमेत गरिएको छ ।

सहकार्यका लागि अपिल
संघले १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनलाई ऐतिहासिक र सफल बनाउन विश्वभर छरिएका गैरआवासीय नेपाली समुदाय, राष्ट्रिय समन्वय परिषदहरू तथा सरोकारवाला सबै पक्षलाई सक्रिय सहयोग गर्न अपिल गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २९, सोमबार ०७:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP