मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संविधान राम्रो, कार्यान्वयनमा दलहरूको अरुचि समस्या: प्रचण्ड

1.2K
SHARES
संविधान राम्रो, कार्यान्वयनमा दलहरूको अरुचि समस्या: प्रचण्ड

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रावधान स्वयंमा प्रभावकारी भए पनि यसको कार्यान्वयनमा राजनीतिक दलहरू उदासीन देखिएको टिप्पणी गरेका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डका अनुसार नेपालको संविधान राजनीतिक परिस्थिति र अन्तर्राष्ट्रिय सन्दर्भअनुरूप उत्कृष्ट बने पनि दलहरूले आवश्यक ऐन–कानुन बनाउन ढिलासुस्ती गरेको कारण संविधानको प्रभावकारिता कमजोर बनेको छ। “संविधानअनुसारका कानुन बनाउने काममै अरुचि देखियो,” उनले भने, “सुरुदेखि नै गठबन्धनका पार्टीहरूले संविधानको मर्मअनुसार ऐन बनाउन ढिलाइ गरेपछि समस्या उत्पन्न भयो ।” संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन, प्रहरी समायोजन ऐनजस्ता कानुन कार्यान्वयनमा नआउनु संविधानको सफलता–असफलतामा ठूलो चुनौती भएको उनको भनाइ थियो ।

पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु संविधानको मर्मविपरीत नहुने स्पष्ट पार्दै प्रचण्डले अन्तर्राष्ट्रिय उदाहरण प्रस्तुत गरे । “संविधानले वा कानुनले राष्ट्रपतिलाई राजनीति नगर्नु भनेको छैन,” उनले भने। यस प्रसङ्गमा उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता नवीकरण ओलीकै सहमतिमा गरेको र सक्रिय राजनीतिमा फर्कन खोजेको कुरा अब स्पष्ट भएको दाबी गरे ।

भारतसँगका सीमा विवादबारे बोल्दै प्रचण्डले आफ्नो प्रधानमन्त्रीकालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संवादमार्फत समाधान गर्ने प्रतिबद्धता जनाएको स्मरण गरे । “भारत भ्रमणमा प्रधानमन्त्री मोदीजीले पहिलोपटक औपचारिक रूपमा सीमा समस्या हल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए,” उनले भने । वर्तमान सरकारले पनि यो विषय संवादमार्फत अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

पार्टीभित्रका स्वार्थ समूह विघटन गर्ने हालैको केन्द्रीय समितिको निर्णयबारे प्रचण्डले यसलाई आन्तरिक एकता सबल पार्ने कदम भने । जनार्दन शर्मा ‘प्रभाकर’ सम्बन्धी विवादलाई पदाधिकारी बैठकमा थप समीक्षा गर्ने बताएका उनले समाजवादी मोर्चासँग पार्टी एकता गर्ने सम्भावना खुला रहेको पनि बताए ।

विद्या भण्डारीलाई पार्टी अध्यक्ष बनाएर एकता गर्ने चर्चा भइरहेको प्रश्नमा भने उनले “त्यस्तो विषयमा अहिले प्रवेश नै नगरेका छौं” भनेर स्पष्ट पारे ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १२, बिहीबार ०४:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP