मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाल इन्जिनियरिङ कलेजप्रति आकर्षण वृद्धि, प्रवेश परीक्षामा ४५० भन्दा बढीको सहभागिता

1.7K
SHARES
नेपाल इन्जिनियरिङ कलेजप्रति आकर्षण वृद्धि, प्रवेश परीक्षामा ४५० भन्दा बढीको सहभागिता

काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (NEC) मा विद्यार्थिहरूको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ । तीन दशकदेखि इन्जिनियरिङ शिक्षाको विकास र दक्ष जनशक्ति उत्पादनमा क्रियाशील रहेको कलेजले आगामी शैक्षिक सत्रका लागि लिएको प्रवेश परीक्षामा सहभागिता अत्यधिक देखिएको हो ।

शनिबार आयोजित स्नातक तहको प्रवेश परीक्षा दिँदा विज्ञान संकायका कक्षा १२ उत्तीर्ण ४५० भन्दा बढी विद्यार्थी सहभागी भएका छन् । कलेजका मिडिया रिलेसन अफिसर आशिष झाका अनुसार यो वर्ष प्रवेश परीक्षामा मोफसलबाट आएका विद्यार्थीको सहभागिता उल्लेख्य थियो । ‘इन्जिनियरिङ पढेर देशमै केही गर्ने चाहना बोकेका विद्यार्थीहरूको संख्या उत्साहजनक छ,’ उनले बताए ।

धादिङबाट छोरीलाई परीक्षा दिलाउन काठमाडौं आएका अभिभावक लक्ष्मण अधिकारीले कलेजको शैक्षिक वातावरण मन परेको बताए । उनका अनुसार रिसर्चमुखी शिक्षण प्रणाली, प्रयोगात्मक सिकाइ, सर्वसुलभ शुल्क र मुनाफा वितरण नगर्ने शैक्षिक मोडल कलेजको विशेषता हो ।

त्यस्तै, काठमाडौं सितापाइलाका अभिभावक अनन्त डाँगीले कलेजको शिक्षण शैली र सुविधाले नै आफूलाई छोएको बताए । ‘देशमै बसेर इन्जिनियरिङ पढ्दा भविष्य सुनिश्चित हुन सक्छ भन्ने सोचले छोरालाई यहाँ ल्याएँ,’ उनले भने ।

विद्यार्थीहरूले शहरी कोलाहलभन्दा टाढा, हरियालीयुक्त शान्त वातावरण, आफ्नै पूर्वाधार, विषयगत प्रयोगशाला, पुस्तकालय र एकेडेमिया–इन्डस्ट्री जोड्ने शिक्षण विधिका कारण आफूहरू आकर्षित भएको बताए । कलेजमा पूर्णकालिक फ्याकल्टी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एक्सपोजर, छात्रवृत्ति र पहुँचयुक्त शुल्क संरचना उपलब्ध छ ।

नेपाल इन्जिनियरिङ काउन्सिलबाट मान्यता प्राप्त यो कलेज संस्था दर्ता ऐन २०३४ अन्तर्गत भक्तपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो । पछिल्लो समय शिक्षा मन्त्रालयद्वारा गठित सञ्चालक समितिमार्फत सञ्चालन हुँदै आएको कलेजले गरिब, जेहेन्दार तथा दूरदराजका विद्यार्थीसम्म इन्जिनियरिङ शिक्षाको पहुँच पुगोस् भन्ने उद्देश्य राखेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १, आईतवार ०५:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP