मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बीपी राजमार्गमा अझै १५ दिन राति सवारी आवागमनमा निषेध

1.7K
SHARES
बीपी राजमार्गमा अझै १५ दिन राति सवारी आवागमनमा निषेध

काभ्रेपलाञ्चोक । मनसुनजन्य जोखिम कायम रहेकाले बीपी राजमार्गमा रातको समयमा सवारी चलाउन प्रतिबन्ध थप १५ दिन लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार भदौ १ गतेदेखि १५ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक र निजी सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।

जिल्ला सुरक्षा समितिको शुक्रबार सम्पन्न बैठकले काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको नेपालथोकसम्मको सडक खण्डमा रातको सवारी आवागमन स्थगित गर्ने निर्णय गरेको हो । उक्त सूचनामा मनसुन सक्रिय रहेकाले सम्भावित पहिरो र बाढीबाट हुने क्षति न्यूनिकरण गर्न उक्त समयसीमामा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार काभ्रेभञ्ज्याङ—खुर्कोट खण्डको धेरै स्थान जोखिममा रहेकाले उक्त निर्णय लिइएको हो । काठमाडौंतर्फबाट जाने सवारी साधन काभ्रेभञ्ज्याङमै रोकिनेछ भने प्रदेशतर्फ आउने सवारी नेपालथोकमा रोकिनेछ ।

यसअघि असार ७ गतेदेखि मनसुन सक्रिय भएसँगै उक्त राजमार्गमा साँझ ६ः३० देखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो । असार मसान्त र साउन महिनाभर यो समयावधि साँझ ५ बजेदेखि लागू गरिएको थियो ।

गत वर्ष असोजमा आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्म ८ किमि सडक बगाएको थियो । त्यसपछि अस्थायी रूपमा एकतर्फी वा दुइतर्फी आवागमन हुने गरी वैकल्पिक ट्र्याक प्रयोग भइरहेको छ । सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमा र नेपालथोकदेखि धुलिखेलसम्म ५० किमि गरी ८४ किमि सडक खण्ड सर्वाधिक क्षतिग्रस्त भएको थियो ।

चार खण्डमा बाँडी ठेक्का प्रक्रियाबाट स्थायी पुनर्निर्माण अघि बढाइएको उक्त राजमार्ग पूर्वी नेपालसँगको छोटो दुरीको महत्त्वपूर्ण सडक मार्ग हो, जहाँ दैनिक हजारौँ सवारी साधन चल्ने गर्छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ३१, शनिबार ०६:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP