मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तीन दिनसम्म नदीहरूमा बहाव उच्च हुने सम्भावना, बाढीको जोखिम बढ्दो

2.2K
SHARES
तीन दिनसम्म नदीहरूमा बहाव उच्च हुने सम्भावना, बाढीको जोखिम बढ्दो

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्न सक्ने जनाउँदै बाढीको सम्भावनाबारे सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाले मंगलबार बिहान ८ बजे सार्वजनिक गरेको बुलेटिनमा कोशी, नारायणी, कर्णाली र महाकाली नदीहरूको जलसतह हाल सतर्कता तहभन्दा तल भए पनि आगामी दिनहरूमा तीब्ररूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ । कमला र बागमती नदीमा भने आज र भोलिमा सामान्य बढोत्तरी देखिने र पर्सि विशेषगरी बहाव उल्लेख्य हुने उल्लेख छ ।

महाशाखाका अनुसार साना नदीहरूमा आकस्मिक बाढीको जोखिम अझ बढी रहनेछ । विशेषगरी ताप्लेजुङ, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, काठमाडौं उपत्यका लगायत पूर्वी तथा मध्य पहाडी जिल्लाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।

त्यस्तै, झापा, इलाम, चितवन, कास्की, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर, दार्चुला लगायतका जिल्लामा साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले पनि सतर्क रहन सुझाव दिइएको छ ।

तीन दिनको मौसमी पूर्वानुमान (२०८२ असार ३१ — साउन १)
असार ३१ गते (मंगलबार)
दिउँसोः अधिकांश प्रदेशमा आकाश सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना । एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्नेछ । उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात वा वर्षाको सम्भावना छ ।

रातिः समान रूपले बदली रहनेछ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ । कोशी र मधेश प्रदेशका केही भागमा हावाहुरीको पनि सम्भावना छ ।

असार ३२ गते (बुधबार)
दिउँसोः देशभर आकाश सामान्य बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा सम्भावित छ । कोशी, बागमती र गण्डकीका केही स्थानहरूमा भारी वर्षाको सम्भावना ।

रातिः आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा हुने सम्भावना । हावाहुरी पनि मधेश र तराईका केही भागमा देखिन सक्छ ।

साउन १ गते (बिहीबार)
दिउँसोः बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा सम्भावित । एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ । मधेश प्रदेशमा पनि हावाहुरी देखिन सक्छ ।

रातिः कोशी र मधेश प्रदेशका साथै केही पहाडी भागहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना । लुम्बिनी प्रदेशको तराईमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ ।

विभागको आग्रह
बाढीको जोखिम रहेका क्षेत्रका स्थानीयवासी, यात्री, निर्माणकार्यमा संलग्न व्यक्ति र सम्बन्धित निकायहरूलाई आवश्यक सतर्कता अपनाउन विभागले पुनः आग्रह गरेको छ । विशेषगरी साना नदी किनारका बस्तीहरू, पहिरो सम्भावित भेग र डुबानमा पर्न सक्ने क्षेत्रहरूमा पूर्वतयारी आवश्यक भएको जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ३१, मंगलवार ०५:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP