मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ओखलढुंगाको लिखुमा सात दिने होमस्टे तालिम सुरु

2.9K
SHARES
ओखलढुंगाको लिखुमा सात दिने होमस्टे तालिम सुरु

काठमाडौं । ओखलढुंगाको लिखु गाउँपालिकामा सात दिने आधारभूत होमस्टे तथा होटल व्यवस्थापन तालिम सुरु भएको छ । मंगलबारदेखि सुरु भएको तालिमको उद्घाटन गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले एक औपचारिक कार्यक्रममा गरेकी हुन् । तालिम लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालित हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले स्थानीय स्रोत र उत्पादनको सदुपयोगमार्फत पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राखिन् । ‘हाम्रै माटोमा उब्जेका सामग्रीलाई फरक शैलीमा प्रस्तुत गर्न सके, पर्यटक लोभिन सक्छन्,’ उनले भनिन्, ‘पर्यटक लोभिदा स्थानीयको आम्दानी बढ्छ, र आम्दानीले स्थानीय विकासमा टेवा पुग्छ ।’

उनले पर्यटनसँगै सामाजिक विकासलाई जोड दिँदै भनिन्, ‘स्थानीयले आम्दानी गर्न थालेपछि शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा समेत लगानी गर्न सहज हुन्छ। त्यसैले स्थानीय उत्पादनको प्रवर्द्धनमा सबैको सक्रियता आवश्यक छ ।’

सात दिने तालिममा २५ जनाको सहभागिता रहेको छ । सहभागीहरूलाई होमस्टे सञ्चालन, आतिथ्य सत्कार, भान्सा व्यवस्थापन, सरसफाइ, ग्राहक व्यवहार र स्थानिय संस्कृति प्रस्तुत गर्ने तरिकाबारे प्रशिक्षण दिइनेछ ।

गाउँपालिकाले तालिमका लागि ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तालिमपछि सहभागीहरूले आफ्नै गाउँमा होमस्टे सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने अपेक्षा गरिएको छ ।

गाउँपालिकाका अनुसार तालिमले पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग जोड्न र ग्रामीण स्तरमै रोजगारी सिर्जना गर्न मद्दत गर्नेछ । प्रशिक्षार्थीहरूलाई अभ्यासमा आधारित तालिम दिइने र उनीहरूलाई आवश्यक परेमा परामर्श सहयोग पनि गरिने जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १८, बुधबार ०५:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP