मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रौनकको शतकीय प्रदर्शनले नेपाललाई सेमिफाइनलमा पुर्‍यायो, भुटानविरुद्ध २९८ रनको धमाकेदार जित

2.4K
SHARES
रौनकको शतकीय प्रदर्शनले नेपाललाई सेमिफाइनलमा पुर्‍यायो, भुटानविरुद्ध २९८ रनको धमाकेदार जित

काठमाडौं । रौनक श्रीवास्तवको विस्फोटक ब्याटिङ प्रदर्शनसँगै नेपालले भुटानलाई २९८ रनको फराकिलो अन्तरले पराजित गर्दै एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

मलेसियामा जारी प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रनको विशाल योगफल बनायो । जवाफी ब्याटिङमा उत्रिएको भुटान ३२.४ ओभरमै ६० रनमा समेटियो । उनका एक जना ब्याट्सम्यान क्रिजमा नआएपछि इनिङ्स सकिएको घोषणा गरिएको थियो ।

भुटानका लागि सुजन दावाले सबैभन्दा बढी १४ रन बनाए भने ओपनर उयोग छोफेलले १० रन जोडे । बाँकी खेलाडी दोहोरो अंकमा पुग्न असफल भए ।

नेपालको बलिङ आक्रमणमा कप्तान विपिनप्रसाद शर्माले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा ७ रन खर्चिएर ४ विकेट लिए । त्यस्तै सचिन भट्ट र सुयोग भट्टराईले समानरूपमा २÷२ विकेट झारे ।

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको नेपालका लागि रौनक श्रीवास्तवले १३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दै १६८ रनको शान्दार पारी खेले । सुरुवाती चरणमा १७ रनमै दुई विकेट गुमाएर दबाबमा परेको नेपाललाई रौनक र शिवान्श बजगाईंले तेस्रो विकेटका लागि ९१ रनको साझेदारी गर्दै सम्हाले । शिवान्शले ५४ रनको योगदान दिए ।

रौनकले चौथो विकेटका लागि सुगम बुढाथोकीसँग ७२ रन र पाँचौँ विकेटका लागि जोय थापासँग १७० रनको महत्वपूर्ण साझेदारी गरे । जोय ६७ बलमा ७ चौकासहित ६१ रनमा अविजित रहे ।

यसअघिको खेलमा शतक बनाएका प्रसिद्ध जैसी यसपटक ७ रनमै आउट भए भने परिमार्जन यादवले २ रन मात्र जोडे । भुटानका लागि सञ्जय दोर्जेले सबैभन्दा सफल बलरको रूपमा ३ विकेट लिए ।

यस जितसँगै नेपाल समूह ‘ए’बाट सबै चार खेल जित्दै शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । भुटानले भने समूह चरणका चारै खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगिता एसीसी (एसियाली क्रिकेट परिषद्) द्वारा आयोजना गरिएको हो । समूह ‘ए’ मा नेपाल, सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन्, भने समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार प्रतिस्पर्धामा छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १७, मंगलवार ०९:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP