मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आज संसद्का दुवै सदन बस्दै, विनियोजन विधेयकमाथि छलफल र भिजिट भिसा प्रकरणमा अवरोध कायमै रहने संकेत

1.8K
SHARES
आज संसद्का दुवै सदन बस्दै, विनियोजन विधेयकमाथि छलफल र भिजिट भिसा प्रकरणमा अवरोध कायमै रहने संकेत

काठमाडौं । आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकहरू बस्दै छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ । दुवै सदनका कार्यसूचीहरू व्यस्त र बहुआयामिक देखिएका छन् ।

प्रतिनिधिसभाको बैठकको मुख्य कार्यसूचीमा आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुने छ । विभिन्न मन्त्रालयका शीर्षकमाथि समूहीकृत ढंगले छलफल गरिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । छलफलमा वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसंख्या तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसम्बन्धी शीर्षकहरू समेटिने छन् ।

साथै, बजेटसँग सम्बन्धित खर्च कटौतीका प्रस्तावहरू पनि प्रस्तुत हुने कार्यसूचीमा रहेका छन् । यसै बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेश गर्ने तयारी छ ।

तर, सदन सञ्चालन सहज हुने संकेत छैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन आयोग गठनको माग गर्दै निरन्तर अवरोध गरिरहेका छन् । रास्वपाले स्पष्ट रूपमा माग पूरा नभएसम्म सदन चल्न नदिने अडान दोहोर्‍याउँदै आएको छ ।

यता, राष्ट्रिय सभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सोधिनेछ । बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उठेका प्रश्नहरूको जवाफ दिने छन् । साथै, विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले नेपाललाई अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी अध्ययन प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा भन्सार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्तावसमेत पेस गरिनेछ । साथै, संविधानसभा सदस्य वीरेन्द्र जुहारचन र प्रतिनिधिसभाका पूर्वसांसद ढुण्डिराज शास्त्रीको निधनमा शोक प्रस्ताव पनि प्रस्तुत गरिने कार्यसूचीमा समावेश छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ५, बिहीबार ०५:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP