मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एस्टन भिल्लालाई हराउँदै पीएसजीले जित्यो लगातार दोस्रो सुपर कप

156
SHARES
एस्टन भिल्लालाई हराउँदै पीएसजीले जित्यो लगातार दोस्रो सुपर कप

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले एस्टन भिल्लालाई २–१ गोलले पराजित गर्दै यूईएफए सुपर कपको उपाधि लगातार दोस्रोपटक आफ्नो नाममा लेखाएको छ । साल्जबर्गमा बुधबार राति भएको फाइनलमा पीएसजीले उत्कृष्ट पुनरागमन गर्दै उपाधि सुरक्षित गरेको हो ।

खेलको २०औँ मिनेटमा ख्विचा क्वारात्स्खेलियाले शक्तिशाली प्रहारमार्फत गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । तर एस्टन भिल्लाले १७ वर्षीय ब्रायन माड्जोको उत्कृष्ट भली गोलमा खेल बराबरीमा ल्यायो ।

दोस्रो हाफमा पीएसजीले निर्णायक गोल गर्‍यो । ६१औँ मिनेटमा ओस्मान डेम्बेलेको पासमा डिजिरे डुएले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए । सुरुमा अफसाइड ठहर गरिएको उक्त गोल भीएआरमार्फत पुनरावलोकन गरेपछि मान्यता दिइएको थियो । एस्टन भिल्लाका म्याटी क्यासले डुएलाई झिनो अन्तरले अनसाइडमा राखेको निष्कर्ष निकालिएको थियो ।

यस फाइनलमा गोल गर्दै माड्जो सुपर कपको फाइनलमा सुरुआती टोलीबाट खेलेर गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी बने । फिफासँगको दर्तासम्बन्धी विवाद समाधान भएपछि उनले प्रतियोगितामा खेल्ने अनुमति पाएका थिए ।

उपाधिसँगै पीएसजीले लगातार दुईपटक सुपर कप जित्ने रियल मड्रिडपछि पहिलो टोलीको कीर्तिमान बनाएको छ । रियल मड्रिडले सन् २०१६ र २०१७ मा लगातार सुपर कप जितेको थियो ।

च्याम्पियन्स लिग विजेता पीएसजी र युरोपा लिग विजेता एस्टन भिल्लाबीच भएको यो खेल युरोपेली फुटबल सिजनको सुरुआती प्रमुख प्रतिस्पर्धामध्ये एक थियो । पीएसजीका लागि यो सिजन सम्भावित ६ उपाधिमध्ये पहिलो उपाधि बनेको छ ।

यस खेलसँगै सोमालियाका रेफ्री ओमार आर्टानले पनि नयाँ इतिहास बनाए । उनी यूईएफए सुपर कप फाइनल सञ्चालन गर्ने पहिलो गैरयुरोपेली रेफ्री बने । खेलमा उनले तीन पहेँलो कार्ड देखाए, जुन सबै एस्टन भिल्लाका खेलाडीले पाए ।

गत सिजन अफ्रिकाका उत्कृष्ट रेफ्रीमध्ये एक बनेका आर्टानलाई विश्वकपअघि अमेरिकाले सुरक्षा जाँचसम्बन्धी चिन्ता जनाउँदै विश्वकपमा रेफ्रीको जिम्मेवारीबाट हटाएको थियो । अमेरिकी अधिकारीहरूले उनी प्रतिबन्धित संगठनसँग सम्बन्धित रहेको दाबी गरे पनि त्यससम्बन्धी प्रमाण सार्वजनिक गरिएको थिएन । त्यसपछि यूईएफएले उनलाई सुपर कप फाइनलको जिम्मेवारी दिएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण २८, बिहीबार ००:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP