मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा बैठक बस्दै, चार विधेयक पेस हुँदै

130
SHARES
प्रतिनिधिसभा बैठक बस्दै, चार विधेयक पेस हुँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सिंहदरबारमा बस्दैछ । बैठकमा विभिन्न विधेयक पेस तथा छलफल गर्ने कार्यसूची तय गरिएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (१०औँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ पेस गर्ने कार्यसूची छ ।

त्यस्तै, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को तर्फबाट कानुनमन्त्री गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत पेस गर्नेछिन् ।

यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ पारित गरियोस् भन्ने प्रस्ताव पनि मन्त्री गौतमले नै प्रस्तुत गर्ने कार्यसूची छ ।

विधेयकमाथिको कार्य अघि बढाउनुअघि परराष्ट्र मन्त्रालय तथा युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रमसमेत रहेको छ ।

चार संसदीय समितिको बैठक पनि
प्रतिनिधिसभाको बैठकसँगै आज चारवटा संसदीय समितिका बैठक पनि बस्ने भएका छन् ।

बिहान ९ः०० बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल हुनेछ ।

त्यस्तै, बिहान १०ः०० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ । उक्त बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ कार्यान्वयनका विषयमा छलफल गरिनेछ ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने समितिको बैठक सञ्चालन कार्यविधिसम्बन्धी विषयमा छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण २५, सोमबार ००:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP