मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्कटल्यान्डविरुद्ध भिड्दै नेपाल, सान्त्वना जितको खोजीमा नेपाली टोली

1.4K
SHARES
स्कटल्यान्डविरुद्ध भिड्दै नेपाल, सान्त्वना जितको खोजीमा नेपाली टोली

काठमाडौं । आईसीसी टी–२० पुरुष विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज आफ्नो अन्तिम खेलमा स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोलीसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार मंगलबार साँझ ७ः१५ बजे वनखेडे स्टेडियम, मुम्बईमा हुनेछ ।

समूह चरणका तीन खेल खेलिसकेको नेपाल अहिलेसम्म अंक जोड्न सकेको छैन । स्कटल्यान्डले भने दुई अंक बनाएको छ । यस समूहबाट इंग्ल्यान्ड र वेस्ट इन्डिज क्रिकेट टोली सुपर आठमा प्रवेश गरिसकेका छन् । स्कटल्यान्ड, इटाली र नेपाल भने समूह चरणबाटै बाहिरिएका छन् । प्रतियोगिताबाट बाहिरिसकेको नेपालका लागि आजको खेल सान्त्वना जित निकाल्ने अवसरका रूपमा रहेको छ ।

नेपालको प्रदर्शनः तीन खेलको समीक्षा
नेपालले पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध उत्कृष्ट प्रतिस्पर्धा गरेको थियो । १८५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ६ विकेट गुमाउँदै १८० रनमै सीमित भएपछि चार रनले पराजित भएको थियो ।

दोस्रो खेलमा भने नेपालले कमजोर प्रदर्शन गर्‍यो । पहिले ब्याटिङ गर्दै बनाएको १२३ रनको लक्ष्य इटालीले कुनै विकेट नगुमाई सहज रूपमा भेट्टाएको थियो, जसमा नेपाल १० विकेटले पराजित भयो ।

तेस्रो खेलमा वेस्ट इन्डिजसँग पनि नेपाल टिक्न सकेन । नेपालले बनाएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५ ओभर २ बलमै एक विकेट गुमाएर पूरा गरेको थियो ।

विश्वकपमा नेपालको यात्रा
नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । त्यसपछि दोस्रो पटक विश्वकप खेल्न नेपाललाई करिब एक दशक कुर्नुपर्‍यो। अघिल्लो संस्करणमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उपस्थिति बलियो बनाएको थियो ।

नेपाल हालसम्म खेलेका विश्वकपका कुनै पनि संस्करणमा समूह चरण पार गर्न सफल भएको छैन । कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा नेपालले लगातार दोस्रो पटक विश्वकप खेलेको हो । तीव्र गतिका बलर सोमपाल कामी भने नेपालबाट तीन विश्वकप खेल्ने एक्लो खेलाडी बनेका छन् ।

नेपालको टोली
टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन् ।

समूह ‘सी’मा वेस्ट इन्डिज ६ अंकसहित शीर्ष स्थानमा रहेको छ भने इंग्ल्यान्ड पनि ६ अंकका साथ दोस्रो स्थानमा छ । यी दुई टोली सुपर आठमा प्रवेश गर्दा बाँकी तीन टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ५, मंगलवार ०४:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP