मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाल–भारत वार्तापछि तीन महत्वपूर्ण सहमति, डिजिटल भुक्तानीदेखि पुनर्निर्माण परियोजनासम्म घोषणा

546
SHARES
नेपाल–भारत वार्तापछि तीन महत्वपूर्ण सहमति, डिजिटल भुक्तानीदेखि पुनर्निर्माण परियोजनासम्म घोषणा

काठमाडौं । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच नयाँ दिल्लीमा सम्पन्न उच्चस्तरीय भेटवार्तापछि तीन बुँदे संयुक्त घोषणा सार्वजनिक गरिएको छ । शनिबार साँझ भएको वार्तामा दुई देशबीचको आर्थिक, प्राविधिक तथा जनस्तरीय सहकार्यलाई थप विस्तार गर्ने विषयमा सहमति भएको हो ।

द्विपक्षीय छलफलमा व्यापार तथा लगानी प्रवर्द्धन, सीमापार सम्पर्क सुदृढीकरण, ऊर्जा क्षेत्रको साझेदारी, जलस्रोत व्यवस्थापन तथा खेलकुदमार्फत दुई देशका नागरिकबीच सम्बन्ध अझ बलियो बनाउने विषयमा विस्तृत कुराकानी भएको बताइएको छ ।

बैठकपछि जारी घोषणाअनुसार पहिलो चरणमा भारतले भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत नेपालमा निर्माण गरिएका विभिन्न परियोजना औपचारिक रूपमा हस्तान्तरण गरेको छ । सन् २०१५ को विनाशकारी भूकम्पपछि भारतको सहयोगमा निर्माण भएका ७२ स्वास्थ्य संस्था र १२ सांस्कृतिक सम्पदा परियोजना भर्चुअल माध्यमबाट नेपाललाई हस्तान्तरण गरिएको हो ।

त्यसैगरी दोस्रो सहमतिअन्तर्गत नेपाल र भारतबीच सीमापार डिजिटल भुक्तानी प्रणालीलाई सहज बनाउने पहल सुरु गरिएको छ । भारतको यूपीआई (UPI) र नेपालको नेसनल पेमेन्ट्स (NPI) इन्टरफेसलाई आपसमा आबद्ध गर्ने प्रक्रिया संयुक्त रूपमा प्रारम्भ गरिएको दुवै पक्षले जनाएका छन् । यसबाट दुई देशका नागरिकलाई रकम पठाउन तथा डिजिटल कारोबार गर्न थप सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

घोषणाको तेस्रो बुँदामा भारतको ‘डिजिटल इन्डिया भाषिनी’ कार्यक्रम र काठमाडौं विश्वविद्यालयबीच समझदारीपत्र आदानप्रदान भएको उल्लेख छ । उक्त सहकार्यमार्फत नेपालका लागि आवाजमा आधारित भाषा अनुवाद प्रविधि तथा राष्ट्रिय डिजिटल भाषा पूर्वाधार विकासमा सहकार्य गरिनेछ ।

समझदारीपत्र आदानप्रदान कार्यक्रममा दुवै देशका विदेशमन्त्री साक्षी बनेका थिए ।

परराष्ट्रमन्त्री खनालले यसअघि भारतका विभिन्न उच्च सरकारी अधिकारीसँग समेत भेटवार्ता गरी नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल गरेका थिए । नयाँ दिल्लीमा सम्पन्न पछिल्लो वार्तालाई दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २४, आईतवार ००:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP