मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पूर्वराष्ट्रपति भण्डारीको स्पष्टोक्तिः “पार्टी सदस्यता विवादको विषय होइन, अधिकार कुण्ठित नगर्नुहोस्”

2.8K
SHARES
पूर्वराष्ट्रपति भण्डारीको स्पष्टोक्तिः “पार्टी सदस्यता विवादको विषय होइन, अधिकार कुण्ठित नगर्नुहोस्”

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)मा आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको स्पष्ट पार्दै यसलाई विवादको विषय नबनाउन आग्रह गरेकी छन् । शुक्रबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीको निर्णयप्रति असहमति जनाउँदै संवैधानिक अधिकार कुण्ठित हुने गरी निर्णय नगर्न चेतावनी दिइन् ।

भण्डारीले आफूले विधिसम्मत रूपमा असार १४ गते जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा पार्टी सदस्यता नवीकरण गरेको बताउँदै भनिन्, “पार्टी सदस्यता नवीकरण भइसकेको विषय हो । यसलाई विवादमा पार्नुको औचित्य छैन ।”

उनका अनुसार राष्ट्रपतिको जिम्मेवारी पूरा गरेपछि सामाजिक, राजनीतिक र वैदेशिक विषयमा गहिरो अध्ययन तथा विचार गर्दै पार्टीमा आबद्ध हुने निर्णयमा उनी पुगेकी हुन् । त्यसैको निरन्तरता स्वरूप सदस्यता नवीकरण गरिएको र त्यसबारेमा सार्वजनिक जानकारी आफूले नै दिएको भण्डारीले स्पष्ट गरिन् ।

ओलीसँग सौहार्दपूर्ण छलफलपछि पनि नवीकरण अस्वीकृत
भण्डारीले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सदस्यता नवीकरणको विषयमा सौहार्दपूर्ण छलफल भएको बताउँदै त्यसको भोलिपल्ट पार्टी केन्द्रीय कमिटीको निर्णयबाट नवीकरण अस्वीकार गरिएको जानकारी सार्वजनिक भएकोप्रति आश्चर्य व्यक्त गरिन् ।

“मैले विधिसम्मत रूपमा सदस्यता नवीकरण गरिसकेको छु । त्यसैले यसलाई विवाद बनाउनु अवैधानिक र असंगत निर्णय हो,” उनले भनिन् ।

“संविधानले दिएको अधिकार कुण्ठित गरियो”
भण्डारीले राजनीतिक दलमा आबद्ध हुने अधिकार नेपालको संविधानले मौलिक हकका रूपमा प्रत्याभूत गरेको उल्लेख गर्दै भनिन्, “संविधान र कानुनले कहिँ कतैबाट मलाई राजनीतिमा संलग्न हुन रोक्दैन । मलाई रोक्ने निर्णय जनवाद, संविधान र विधिको शासन विपरीत छ ।”

उनले दलको आन्तरिक निर्णयले आफूलाई सदस्यबाट बञ्चित गर्नु लोकतान्त्रिक मूल्य र पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको सिद्धान्त विपरित भएको टिप्पणी गरिन् । “पार्टीको साख र प्रतिष्ठा गिराउने यस्ता निर्णयहरूले सत्यलाई सधैं ढाक्न सक्दैनन्,” उनले प्रष्ट पारिन् ।

“पार्टी निर्माणमा म लगायत हजारौंको योगदान”
पूर्वराष्ट्रपति भण्डारीले आफ्नो ४५ वर्ष लामो पार्टी जीवनको सन्दर्भ दिँदै भनिन्, “यो पार्टी बनाउन हजारौं कार्यकर्ताले रगत, पसिना बगाएका छन् । म पनि तीमध्ये एक हुँ । अहिलेको निर्णय भावनावश गरिएको होइन, तर शान्त, गम्भीर र वैचारिक धरातलमा आधारित छ ।”

उनले पार्टीका सम्पूर्ण पंक्तिलाई जनताको बहुदलीय जनवाद (जबज) को मूल मर्मलाई आत्मसात गर्दै पार्टी निर्माणमा सक्रिय रहन पनि आग्रह गरिन् ।

“म कुनै पदको लोभ, लालसा वा महत्वाकांक्षाबाट राजनीति गरिरहेकी होइन,” उनले दोहोराउँदै भनिन्, “राष्ट्रकै सर्वोच्च पदमा पुगेपछि इतिहासमा नाम लेखाइसकेको मान्छे हुँ । अब बाँकी जीवन पार्टी र जनताको सेवामा समर्पित हुनेछ ।”

पार्टीभित्र व्यापक बहसको माग
भण्डारीले पार्टीको हालको निर्णयलाई आवेग र उत्तेजनाका भरमा लिइएको अपरिपक्व कदम भनेकी छन् । उनले यस्तो निर्णयले एमालेको ऐतिहासिक आन्दोलन र विचारधारात्मक धरातलमा प्रश्न खडा गर्ने भन्दै गहिरो बहसको आवश्यकता औंल्याइन् ।

“जबजले मार्गदर्शन गरेको पार्टीमा विवेकसम्मत निर्णय आवश्यक हुन्छ । यसरी सदस्यताबाट बञ्चित गरिनु न्यायोचित होइन,” उनले निष्कर्ष दिइन् ।

 

प्रेस विज्ञप्ती

नेकपा (एमाले) मा मेरो संलग्नता र पार्टी सदस्यताको नवीकरणको विषयलाई लिएर विगत केही समयदेखि पनिभूत ढङ्गले आम सञ्चार जगतले चासो राखिरहेकोमा मेरो ध्यान गम्भीर रूपमा आकर्षित भएको छ । मुलुकको एक जिम्मेवार नागरिक भएको नाताले मेरा बारेको चासो र सरोकारलाई थप स्पष्ट पार्नु आफ्नो दायित्व ठानेको छु ।

देशको राष्ट्रपतिको भूमिकालाई सफलतापूर्वक पूरा गरी एक नागरिकको रूपमा रहदै आएको केही महिनापछिदेखि नै आमसञ्चार माध्यम, पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणबाट मेरो भावी राजनीतिक यात्राको बारेमा चासो व्यक्त हुँदै आएको थियो । विगत एक वर्षदेखि त व्यापक रूपमै मेरा बारेमा आमसञ्चार माध्यमले सरोकार राखेको पनि सबैलाई अवगतै छ ।

राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथै अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन–मनन् गर्दै आएको र आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आबद्ध भएर अगाडि बढाउने÷नबढाउने भन्ने विषयमा उपयुक्त समयमा जानकारी गराउने कुरा गर्दै आएको थिएँ । जब म पार्टीमा आबद्ध बनेर नै अगाडि बढ्ने टुङ्गोमा पुगें, तब मैले पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरें ।

मैले यो विषय सार्वजनिक नगरिरहेकै अवस्थामा पार्टी कार्यालय, नेता, कार्यकर्ता र शुभेच्छुकको हवाला दिँदै मेरो पार्टी सदस्यता नवीकरणका बारेमा सञ्चार माध्यमले बाहिर ल्याए। अब यस्तो परिवेशमा मेरो पार्टी सदस्यता नवीकरणको विषयमा चुपचाप रहनु उपयुक्त हुँदैनथ्यो। सदस्यता नवीकरण गर्नुको औचित्य पनि नेकपा (एमाले) मा आबद्ध भएर अगाडि बढ्नु नै थियो। यसै विषयलाई मध्यनजर गर्दै मैले २०८२ साल असार १४ गते जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा आफूले नेकपा (एमाले) को सदस्यता नवीकरण गरेको सार्वजनिक गरीकन पार्टी परिवारको सदस्य भएर राजनीतिमा क्रियाशील हुने सङ्कल्प गरेको कुरा सबैलाई जानकारी गराएको थिएँ ।

हालैका दिनमा नेकपा (एमाले) को केन्द्रीय कमिटीसहितका उपल्ला संरचनामा मेरो पार्टी सदस्यता नवीकरणको विषयमा छलफल भएको कुरा सञ्चार माध्यमका समाचार, पार्टीका नेता तथा कार्यकर्ताका अन्तरवार्ता र सामाजिक सञ्जालबाट थाहा पाएँ। मेरो पार्टी सदस्यताको विषयमा पार्टी केन्द्रीय कमिटीको बैठकको अघिल्लो दिन नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र मेरा बीचमा सौहार्दपूर्ण वातावरणमा छलफल समेत भएको थियो। त्यसो त यसभन्दा पहिले पनि पार्टी सदस्यता नवीकरण र पार्टीमा मेरो जिम्मेवारीको विषयमा पार्टीका नेताहरूसँग पटक पटक कुरा हुँदैआएको थियो। मैले पार्टी अध्यक्षसँगको पछिल्लो भेटमा आफूले विधिसम्मत ढङ्गले पार्टी सदस्यता नवीकरण गरेको र यसकै आधारमा पार्टीमा आवद्ध भएर कार्य गर्ने विषयमा समेत छलफल गरेको थिएँ। यसको भोलिपल्ट पार्टी केन्द्रीय कमिटीले मेरो सदस्यता नवीकरण नगरेको कुरा पार्टीले गरेका निर्णयहरूबारे जारी गरेको विज्ञप्तीबाट थाहा पाएँ। वास्तवमा मेरो पार्टी सदस्यता नवीकरण भैसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन।

म एक राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनी देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय होइन। यो संवैधानिक अधिकार मात्र होइन, बरु म राजनीति गरेर, पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको हुँ र आफ्नो बाँकी जीवन पनि राजनीतिमा लगाएर नै देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको हुँ। कुनै पदप्रति लालसा, महत्वाकाङ्क्षा र आशक्ति म मा छैन। किनकी, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकै छु। मेरो उद्देश्य भनेको पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने र राजनीति मार्फत देश र जनताको सेवा गर्ने नै हो। अनि मुलुक र जनतालाई समृद्ध र सुखी बनाउने अभियानलाई अगाडि बढाउने नै हो।

नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूति गरेको छ। संविधानका विभिन्न धारा, मर्म र भावना कहिँ कतैबाट पनि म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन । यो घाम जत्तिकै छर्लङ्ग भएको विषय हो। जनताको बहुदलीय जनवादले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई गहिरोसँग आत्मसात गरेको सन्दर्भमा यस सिद्धान्तको प्रतिकूल हुने गरी पार्टी सदस्य हुनबाट मलाई बञ्चित गर्नुपर्ने कुनै कारण छैन।

यस सन्दर्भमा, नेपालको संविधान, ऐन कानुन र पार्टीको लोकतान्त्रिक मूल्यमान्यता समेतलाई नजरअन्दाज गरेर राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई सङ्कुचन वा नियन्त्रण हुने गरी गरिएका अपरिपक्व निर्णयले मलाई दुःखित तुल्याएको छ। यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ। आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउन सकिएता पनि वास्तविकतालाई सधैं छोप्न सकिंदैन। विषद् छलफल गरिकन विवेकसम्मत ढङ्गले निर्णय लिनु पर्दछ भन्ने जबजको पार्टी निर्माणसम्बन्धी अवधारणाको मर्म पनि यही हो। पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुनेगरी गरिएको निर्णय वैध र परिपक्व हुनै सक्दैन ।

म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको पैंतिस वर्ष भइसकेको थियो। अहिले पार्टी सदस्य भएको पैंतालिस वर्ष बितिसकेका छन् । त्यसैले, पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै मलाई पार्टी सदस्य हुनबाट बञ्चित गर्न कदापि मिल्दैन। यो पार्टी बनाउन म लगायत हजारौं नेता, कार्यकर्ता र सदस्यको रगत, पसिना, मिहिनेत लागेको छ। यो कुरा म यहाँ कुनै भावनामा बगेर गरिरहेको छैन। बरु हाम्रो पार्टीका असल परम्परा, मूल्य एवं आदर्शलाई आधार मानेर बहुत शान्त र गम्भीर भएर म यी कुराहरू राखिरहेको छु। यस आधारमा, जबजले अगाडि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न म देशभरका सबै एमाले पङ्क्तिमा आग्रह गर्दछु। मेरो यो आग्रह र सङ्कल्प अन्तरआत्माको आवाज हो, आफ्नो निर्णयबाट म विचलित हुने छैन। त्यसैले, म सम्पूर्ण पार्टी पंक्तिलाई निर्धक्क, ढुक्क र दृढ भएर पार्टीका मूल्यहरूलाई आत्मसात गर्दै पार्टी निर्माणमा सक्रिय हुन समेत हार्दिक आव्हान गर्दछु ।

जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद ९जबज० प्रतिको नेकपा ९एमाले० का नेता, कार्यकर्ता र आम सदस्य एवम् सम्पूर्ण जनसंगठनमा आबद्ध सबैको गहिरो आस्था, विश्वास र निष्ठाले नै आज हाम्रो पार्टीले यो सफलता हासिल गरेको हो। नेपाली माटोको सुवासमा विकसित भएको जबजको मार्गदर्शनमा नै एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने र मुलुकमा दिगो राजनीतिक स्थायित्व कायम भएर समाजवादको आधार निर्माण हुनेछ। हामी ऐतिहासिक सफलतातर्फ उन्मुख बनिरहेको यस्तो महत्वपूर्ण घडीमा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउनुपर्ने दायित्व हाम्रै हो। यसका निम्ति हामी सबैको निष्ठायुक्त र निस्वार्थ प्रयास अहिलेको आवश्यकता हो। यसो हुन सक्दा नै जननेता मदन भण्डारीको विचारलाई कार्यान्वयन गरेर देशलाई समुन्नत बनाउन सकिनेछ।

विद्यादेवी भण्डारी
पूर्व उपाध्यक्ष, नेकपा (एमाले)



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ९, शुक्रबार १२:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP