मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

साम्पाङको संसद् सन्देश: ‘मोबाइल होइन, माटोसँग जोडिनुपर्छ’

455
SHARES
साम्पाङको संसद् सन्देश: ‘मोबाइल होइन, माटोसँग जोडिनुपर्छ’

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले संसदमा प्रधानमन्त्रीले संसद्मा सामाजिक सहकार्य, कृषि उत्पादन र श्रम संस्कृतिको आवश्यकतामाथि जोड दिएका छन् ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले समाज सहकार्यबाट मात्र बलियो बन्ने बताए । प्रधानमन्त्रीलाई पटक–पटक संसद्मा बोलाउनुपर्ने अवस्था बनेको उल्लेख गर्दै उनले सरकार र अन्य राजनीतिक शक्तिबीच पर्याप्त संवाद नभएको टिप्पणी गरे ।

उनले सत्तापक्षलाई “अभिभावक”को संज्ञा दिँदै नीति तथा बजेट निर्माण प्रक्रियामा सबै पक्षलाई सहभागी गराउनुपर्ने धारणा राखे । “हामी एउटै प्रणालीका हिस्सा हौँ,” भन्दै उनले सत्तापक्षलाई ‘एक्सिलेटर’ र आफूहरूलाई ‘ब्रेक’सँग तुलना गरे । “ब्रेक नभएको गाडी दुर्घटनामा पर्छ,” उनले भने ।

उनले राजनीतिक दलहरूबीच संवादको अभावले सहकार्य कमजोर भएको जिकिर गरे । एकअर्कालाई केवल विरोध गर्ने मानसिकताले देशलाई अघि बढाउन नसक्ने उनको भनाइ थियो ।

सामाजिक विकासका सन्दर्भमा उनले धार्मिक, जातीय र वर्गीय विभेद अन्त्य गर्नुपर्नेमा जोड दिए । “तपाईं म बिना अधुरो, म तपाईं बिना अधुरो,” भन्दै उनले समावेशी समाज निर्माणको आवश्यकता औंल्याए ।

आर्थिक विकासको चर्चा गर्दै उनले कृषि र श्रमलाई केन्द्रमा राख्न सरकारलाई आग्रह गरे । कृत्रिम बुद्धिमत्ता (एआई) ले योजना र चित्र बनाउन सक्ने भए पनि उत्पादनका लागि माटोमै पस्नुपर्ने उनको भनाइ थियो ।

त्यसक्रममा उनले गीतमार्फत नेपाली समाजको बदलिँदो जीवनशैलीप्रति चिन्ता व्यक्त गरेः

खेतबारी बाँझो राखी आकाशतिर हेर्दा
डुब्न लाग्यो देश आज ज्यूँने शैली फेर्दा

उनले माटोलाई हेप्ने संस्कारले आत्मनिर्भरता कमजोर बनाउने चेतावनी दिए । कृषि क्षेत्रलाई प्राथमिकता नदिए देश उत्पादनहीन र गरिबीतर्फ धकेलिने उनको भनाइ थियो ।

भाषणको अन्त्यतिर उनले कविता सुनाउँदै श्रमदान र सामूहिक प्रयासमार्फत मात्र देश बन्ने धारणा व्यक्त गरेः

तीन करोड नेपालीको छ करोड हात चलाउन पर्छ एकैसाथ
कलमले मात्रै बन्दैन देश, औजार समाउनुपर्छ ।

मोबाइल र सामाजिक सञ्जालमा सीमित नभई युवापुस्तालाई खेतबारी र उत्पादनतर्फ फर्काउन सरकारले विशेष नीति ल्याउनुपर्ने उनको आग्रह थियो ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख ३१, बिहीबार १२:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP