मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फागुन २१ को निर्वाचनमा पहिलो दल बन्ने कांग्रेसको दाबी, ५,८५३ नेता–कार्यकर्ता कांग्रेस प्रवेश

624
SHARES
फागुन २१ को निर्वाचनमा पहिलो दल बन्ने कांग्रेसको दाबी, ५,८५३ नेता–कार्यकर्ता कांग्रेस प्रवेश

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनमा पहिलो दल बन्ने दाबी गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले पार्टीपंक्ति उत्साहित रहेको र जनताको अभूतपूर्व समर्थन प्राप्त भएको बताएका हुन् ।

चालिसेले मतको महत्वबारे उल्लेख गर्दै एक मतले समृद्ध, न्यायपूर्ण र समावेशी नेपाल निर्माणको आधार तय गर्ने धारणा राखे । उनले भ्रष्टाचारमुक्त सुशासन, राष्ट्रिय एकता, स्वाधीनता र लोकतन्त्रको रक्षा कांग्रेसको प्रमुख प्रतिबद्धता भएको बताए ।

व्यापक प्रचार अभियान
पार्टीले कार्यकर्ता भेला, प्रचार तथा परिचालन समिति गठन, प्रत्यक्ष नागरिक संवाद, घरदैलो अभियान, डिजिटल प्रचार, कोणसभा र आमसभामार्फत चुनावी अभियान तीव्र बनाएको जनाएको छ । सभापतिले स्वयं प्रतिज्ञापत्रका विषयमा नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उठेका जिज्ञासाको प्रस्ट पारिरहेको पनि उनले जानकारी दिए । कांग्रेसको प्रतिबद्धताले नागरिक तहमा विश्वास र समर्थन बढेको उनको दाबी छ ।

विभिन्न दलबाट कांग्रेसमा प्रवेश
पत्रकार सम्मेलनमा पार्टीमा विभिन्न दलका नेता–कार्यकर्ता प्रवेश गरेको जानकारी दिइयो । पार्टी नेतृत्व परिवर्तनपछि नेपाली कांग्रेस बीपीका केन्द्रीयदेखि तल्लो तहसम्मका संरचना कांग्रेसमा समाहित भएको बताइएको छ ।

त्यसैगरी लौरो अभियानका अभियन्ता, नेकपा एमालेका पूर्वमन्त्री तथा संविधानसभा सदस्य, जिल्ला कमिटीका पदाधिकारीहरू र जनवर्गीय संगठनका सदस्यहरू पनि कांग्रेसमा आबद्ध भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दर्जनौँ केन्द्रीय नेता, प्रदेश तहका नेतृत्वकर्ता र विभिन्न समितिमा आबद्ध सदस्यहरू कांग्रेसमा प्रवेश गरेको दाबी गरिएको छ । साथै नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र बहुजन पार्टीका नेता–कार्यकर्तासमेत कांग्रेसमा समाहित भएको जानकारी दिइयो ।

पार्टीका अनुसार अन्य दल र स्वतन्त्र समूहबाट गरी ५ हजार ८५३ नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । ‘घर फर्क अभियान’ अन्तर्गत अन्य पार्टीमा गएका नेता–कार्यकर्तासमेत पुनः सक्रिय भएको दाबी गरिएको छ ।

निर्वाचन निष्पक्ष बनाउन आग्रह
कांग्रेसले निर्वाचन आचारसंहिता कार्यान्वयनका विषयमा सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । शक्तिको दुरुपयोग नहोस् र निर्वाचन निष्पक्ष तथा शान्तिपूर्ण रूपमा सम्पन्न होस् भन्ने अपेक्षा पार्टीले व्यक्त गरेको छ । निर्वाचनलाई प्रभावित पार्ने प्रयास हुन सक्ने भन्दै पार्टीले आफ्ना कार्यकर्तालाई सतर्क रहन आग्रह गरेको छ ।

उपसभापति शर्माको सात बुँदे अपिल
कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ कांग्रेस ठूलो दल बन्ने दाबी गरे । आवश्यकताअनुसार सुरक्षा निकाय परिचालन गर्ने राज्यको नीति रहेको भन्दै अनावश्यक आशंका नगर्न आग्रह गरे ।

उनले सात बुँदे अपिल सार्वजनिक गर्दै सबै दललाई स्वस्थ र भयरहित चुनावमा सहयोग गर्न आग्रह गरे । सरकार र निर्वाचन आयोगलाई निष्पक्षता कायम गर्न, मतदातालाई विवेकपूर्ण निर्णय गर्न, सञ्चारमाध्यमलाई भ्रम नफैलाउन र सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयमित हुन अपिल गरे ।

पार्टीका नेता–कार्यकर्तालाई ‘मै उम्मेदवार हुँ’ भन्ने भावनासहित सक्रिय हुन आग्रह गर्दै निर्वाचनपछि राष्ट्रिय विषयमा साझा दृष्टिकोण बनाउन सबै दलसँग संवाद गर्न पनि उनले प्रस्ताव गरे ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १८, सोमबार १३:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP