मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पूर्वी पहाडमा नेकपाको उभार: उम्मेदवार चयनले बदलियो चुनावी समीकरण

1.2K
SHARES
पूर्वी पहाडमा नेकपाको उभार: उम्मेदवार चयनले बदलियो चुनावी समीकरण

काठमाडौं । यहि फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा समग्र देशभर चुनावी समीकरण अझै स्पष्ट भइसकेको छैन । तर केही साता अघिसम्म बलियो अवस्थामा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी पछिल्लो समय कमजोर हुँदै गएको विश्लेषण भइरहेको छ ।

यद्यपि देशभर परिस्थिति अनिश्चित देखिए पनि भोजपुरदेखि सोलुखुम्बु, उदयपुर, खोटाङ, रामेछाप, दोलखा, ओखलढुङ्गा, सिन्धुली, सिन्धुपाल्चोक हुँदै काभ्रेपलाञ्चोकसम्म नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को अवस्था तुलनात्मक रूपमा मजबुत हुँदै गएको देखिन्छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार नेकपाको पक्षमा वातावरण सहज बन्नुको प्रमुख कारण उम्मेदवार छनोटलाई मानिएको छ । अन्य दलको तुलनामा नेकपाले अपेक्षाकृत सन्तुलित र लोकप्रिय उम्मेदवार अघि सारेको दाबी गरिन्छ ।

दोलखा र ओखलढुङ्गामा नेकपाको उभार
दोलखा र ओखलढुङ्गामा पछिल्ला दिनमा नेकपाको अवस्था निरन्तर मजबुत हुँदै गएको देखिन्छ । ओखलढुङ्गामा अम्बिर बाबु गुरुङलाई उम्मेदवार बनाएपछि जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र असन्तुष्टि चुलिएको बताइन्छ ।

एमालेको जिल्ला कार्यसमितिले गुरुङकै नाम सिफारिस गरे पनि पार्टीले अस्मिता थापालाई उम्मेदवार बनाएको थियो । त्यस निर्णयपछि एमालेभित्र असन्तुष्टि बढ्दै गएको र कार्यकर्ताहरू नेकपातर्फ प्रवेश गर्ने क्रम बढेको स्थानीय राजनीतिक वृत्तको भनाइ छ ।

रामेछाप र दोलखामा पनि लहर
रामेछापमा नेकपाले श्यामकुमार श्रेष्ठलाई उम्मेदवार बनाएको छ । स्थानीय स्तरमा श्रेष्ठको उम्मेदवारीपछि नेकपाको पक्षमा लहर देखिएको बताइन्छ ।

दोलखामा पनि नेकपाको प्रभाव बढ्दै गएको दाबी गरिएको छ । हालै मात्र करिब दुई सय जना कार्यकर्ता नेकपामा प्रवेश गरेको जनाइएको छ । यहाँ नेकपाले विशाल खड्कालाई उम्मेदवार बनाएको छ भने एमालेले पार्वत गुरुङ लाई उम्मेदवार बनाएको छ । गुरुङको उम्मेदवारीप्रति पार्टीभित्रै असन्तुष्टि रहेको र त्यसले तल्लो तहको गतिविधिमा असर परेको बताइन्छ ।

दोलखाको पूर्वी भेगमा विशाल खड्काको उपस्थिति विशेष रूपमा प्रभावशाली देखिएको स्थानीय स्रोतहरू बताउँछन् ।

खोटाङमा हरि रोका, सोलुखुम्बुमा असीम राई
खोटाङमा नेकपाले बौद्धिक व्यक्तित्व डा. हरि रोकालाई उम्मेदवार बनाएको छ । विगतमा कांग्रेस र एमालेको बलियो आधार मानिएको यस क्षेत्रमा रोकाको उम्मेदवारीले चुनावी प्रतिस्पर्धा नयाँ मोडमा पुगेको बताइन्छ ।

सोलुखुम्बुमा भने असीम राई उम्मेदवार छन् । युवामाझ राईको लोकप्रियता बढ्दै गएको स्थानीय राजनीतिक वृत्तको भनाइ छ ।

भोजपुरदेखि सिन्धुपाल्चोकसम्म सक्रियता
कुनै समय युवा संघको नेतृत्व गरिसकेका अजम्बर काङमाङ राई भोजपुरमा उम्मेदवार बनेपछि विभिन्न वामपन्थी शक्तिहरूबीच सहकार्यको वातावरण बनेको बताइन्छ ।

सिन्धुपाल्चोकमा नेकपाले माधव सापकोटा ‘सुबोध’लाई बलियो उम्मेदवारको रूपमा अघि सारेको छ । त्यस्तै सिन्धुपाल्चोक–२ मा युवराज दुलाल उम्मेदवार छन् । दलगत आधार बलियो नभए पनि दुलालको व्यक्तिगत लोकप्रियताका कारण सो क्षेत्र प्रतिस्पर्धात्मक बन्न सक्ने आँकलन गरिएको छ ।

काभ्रेमा पनि सक्रियता
द्वन्द्वकालमा माओवादीको आधारभूमि मानिएको काभ्रे–१ मा नेकपाले दिनानाथ गौतमलाई उम्मेदवार बनाएको छ । काभ्रे–२ मा भने एकीकृत समाजवादी पृष्ठभूमिकी वसुन्धरा हुमागाईँ उम्मेदवार छन् । कृषक समुदायमाझ उनको लोकप्रियता उल्लेख्य रहेको बताइन्छ ।

यसरी पूर्वी पहाडी जिल्लाहरूमा उम्मेदवार चयन र स्थानीय समीकरणका कारण नेकपाको पक्षमा चुनावी वातावरण क्रमशः अनुकूल बन्दै गएको देखिएको छ । तर समग्र राष्ट्रिय परिदृश्य भने अझै स्पष्ट भइसकेको छैन ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १४, बिहीबार १२:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP