मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चुनावी प्रचारप्रसारमा अवरोध गरे दुई लाख जरिवाना वा तीन वर्षसम्म कैद

845
SHARES
चुनावी प्रचारप्रसारमा अवरोध गरे दुई लाख जरिवाना वा तीन वर्षसम्म कैद

काठमाडौं । निर्वाचन प्रचारप्रसारमा अवरोध सिर्जना गर्ने कार्यमा संलग्न भए कडा सजाय हुने कानुनी व्यवस्था रहेको छ । निर्वाचन आयोगले फरक राजनीतिक दल वा उम्मेदवारको प्रचारमा बाधा पुर्‍याएको पाइए अधिकतम दुई लाख रुपैयाँ जरिवाना, तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने स्पष्ट पारेको छ ।

आयोगका अनुसार सङ्घीय कानुनले निर्वाचनमा उम्मेदवारी दिन, प्रचारप्रसार गर्न वा मतदान गर्नबाट कसैलाई बञ्चित गराउने उद्देश्यले अवरोध, थुनछेक वा दबाब दिनेलाई दण्डनीय ठहर गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा राजनीतिक दल तथा उम्मेदवारको गतिविधि विभिन्न माध्यमबाट अनुगमन भइरहेको आयोगले जनाएको छ ।

हालै केही दल वा उम्मेदवारको चुनावी कार्यक्रम बिथोलिएको, अवरोध गरिएको वा असहज बनाइएको भन्ने गुनासो तथा उजुरीहरू आयोगमा प्राप्त भएका छन् । यस्ता विषयमा सञ्चारमाध्यममा पनि समाचार सार्वजनिक भएपछि आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

राजनीतिक दल, उम्मेदवार र तिनका भातृ संगठनले पालना गर्नुपर्ने आचारसंहिता जारी भइसकेको उल्लेख गर्दै आयोगले जुलुस, आमसभा, कोणसभा, बैठक वा अन्य कार्यक्रम बिथोल्न नहुने स्पष्ट व्यवस्था रहेको स्मरण गराएको छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐनअनुसार निर्वाचन प्रक्रियामा कसैलाई उम्मेदवारी दिन, प्रचारप्रसार गर्न वा मतदान गर्नबाट रोक्न खोज्नु कानुनविपरीत हो । यस्तो कार्यमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने आयोगको चेतावनी छ ।

आसन्न निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउनु सबै सरोकारवालाको साझा दायित्व भएको आयोगले दोहोर्‍याएको छ । साथै, कानुनविपरीत गतिविधि नगर्न र शान्तिपूर्ण वातावरण कायम राख्न सबै राजनीतिक दल, उम्मेदवार तथा नागरिकलाई आयोगले आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १३, बुधबार ००:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP