मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रपति पौडेल सामाजिक विकास विश्व शिखर सम्मेलनमा सहभागी हुन कतार प्रस्थान गर्दै

2.4K
SHARES
राष्ट्रपति पौडेल सामाजिक विकास विश्व शिखर सम्मेलनमा सहभागी हुन कतार प्रस्थान गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन सोमबार कतारको राजधानी दोहा प्रस्थान गर्ने भएका छन् । कात्तिक १८ देखि २० गतेसम्म हुने उक्त सम्मेलनमा उनी १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको औपचारिक निमन्त्रणामा सहभागी हुँदै सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नेछन् ।

संयुक्त राष्ट्रसंघ महासभाको निर्णयअनुसार आयोजित यो सम्मेलन सामाजिक विकासका मुद्दामा विश्वस्तरीय छलफलको अवसरका रूपमा हेरिएको छ । मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमार्फत ३० वर्षपछि आयोजना हुन लागेको सम्मेलनमा नेपालको उच्चस्तरीय सहभागिता यसको गरिमाअनुरूप हुने जनाएको छ ।

सम्मेलनका क्रममा राष्ट्रपति पौडेलले कतारका अमिर, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र अन्य विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यसअघि सामाजिक विकाससम्बन्धी पहिलो विश्व शिखर सम्मेलन सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो ।

यस पटक दोहामा हुने सम्मेलनमा विश्वले सामना गरिरहेका विकास असमानता, जनसंख्या सन्तुलन र प्रविधिले समाजमा पारिरहेको प्रभावजस्ता विषयमा गहिरो छलफल हुने जनाइएको छ । सम्मेलनले सामाजिक विकासका क्षेत्रमा सहकार्य र साझा प्रतिबद्धता पुनःस्थापित गर्ने अपेक्षा गरिएको छ ।

नेपाल सन् १९५५ देखि संयुक्त राष्ट्रसंघको सदस्य बनेको हो । हाल नेपाल राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष रहेकाले पनि राष्ट्रपति पौडेलको सहभागिता विशेष अर्थपूर्ण हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले कतार भ्रमण सकेर यही कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १६, आईतवार १२:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP